विविध शब्दहरू
क) अनुकरणात्मक शब्द :- कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ ।
उदाहरण:
१) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु)
२) खलखली ( पसिना आउनु)
३) गजक्क ( हुनु)
४) घुटुक्क ( निल्नु)
५) हरहर ( तिर्खा लाग्नु)
६) घत्रक्क ( खस्नु)
७) चिरबिर ( चरा कराउनु ) आदि
वाक्यमा प्रयोग
#थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् ।
# थचक्क = अर्चना खाटमा थचक्क बसी।
# फटाफट = हरि फटाफट हिँड्दै छ।
ख) पारिभाषिक शब्द :-
खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ ।
उदाहरण:
१) वैधानिक = विधान वा नियमअनुसारको कुरा
२) निर्दलीय = कुनै राजनीतिक दलको व्यवस्था नगरिएको
३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था
४) परीक्षण = चेक, जाँच गर्ने काम
५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति
ग) प्राविधिक शब्द:-
कुनै पनि किसिमको विज्ञान, प्रविधि तथा शिल्पकला आदिसँग सम्बन्धित रहेका शब्दहरू प्राविधिक शब्द हुन् । प्राविधिक शब्दहरू पनि पारिभाषिक किसिमका हुन्छन् ।
उदाहरण:-
रेडियो = तारको सम्बन्ध नभैई बिजुलीको सहायताबाट टाढाटाढाको खबर आदि प्रसारण गर्ने एक यन्त्र ।।
प्रसारण= व्यापक रूपमा फैलाउने वा प्रचारप्रसार गर्ने काम
विषाणु = विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीव ( भाइरस)
कीटाणु= रोग उत्पन्न गर्ने सूक्ष्मदर्शी सजीव वस्तु
जीवाणु = अनेक प्रकारको रोग उत्पन्न गर्न सक्ने जीवनशक्तियुक्त सूक्ष्म जीव
शल्यक्रिया = चिरफारद्वारा शारीरिक उपचार गरि ठीक पार्ने काम
प्राविधिक /पारिभाषिक शब्दको वाक्यमा प्रयोग
# प्रश्नावली = सर्वेक्षण गर्न सबै प्रश्नावली तयार पारिएको छ
# बहुमुखी = देवकोटा बहुमुखी प्रतिभा भएका व्यक्ति थिए।
# परिपत्र = शिक्षा मन्त्रालयबाट कोरोना महामारीको समयमा विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई परिपत्र गरिएको छ।
#मसौदा = संविधानको मसौदा तयार गर्न विभिन्न विद्वानको सहयोग लिइएको थियो।
# समानान्तर = समानान्तर चतुर्भुज बनाउने प्रयासमा अभिषेकले तीन दिन बितायो।
घ) श्रुतिसमभिन्नार्थक शब्द :-
सुन्दा एउटै जस्तो लाग्ने तर भिन्न अर्थ जनाउने शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन् ।
उदाहरण :-
१) आँसु = अश्रु / आशु= छिटो
२) बाग = बगैँचा / बाघ= हिंस्रक जन्तु
३) बीस = अङ्क २० / विष= जहर/ बिख
४) बा = पिता / वा = अथवा
५) गर्व= अभिमान / गर्भ= कोख/ गोप्य स्थान
ङ) पर्यायवाची शब्द:-
कुनै शब्दको समान अर्थ दिने शब्दलाई पर्यायवाची शब्द भनिन्छ।
उदाहरण
मान्छे = नर, मानिस
स्कुल = विद्यालय , पाठशाला
जल = पानी, सलिल
च) विपरीतार्थक शब्द:-
उल्टो अर्थ दिने शब्दलाई विपरितार्थक शब्द भनिन्छ।
उदाहरण :
स्वर्ग = नर्क
उच्च = नीच
चढ्नु = झर्नु
चोर = साधु
जित्नु = हार्नु
छ) अनेकार्थी शब्द:-
कुनै शब्दको एउटा मात्रै अर्थ नलागेर धेरै अर्थ लाग्ने शब्दलाई अनेकार्थी शब्द भनिन्छ ।
उदाहरण :
ताप= दु:ख/ तातो
दर = भाउ / तीजमा खाने दर
हार = पराजय/ लहर / माला
मास = महिना/ दाल / मास्ने काम गर
ज) लघुतावाची शब्द
कुनै बस्तुको सानो रूप बुझाउने शब्दलाई लघुतावाची शब्द भनिन्छ।
झोला ........... झोली
डालो........... डाली
पुस्तक .......... पुस्तिका
अचार..........पित्को
खुकुरी.......... कर्द
उखान / टुक्का
झ) उखान :-
लोकजीवनमा प्रचलित कथन वा उक्तिलाई उखान भनिन्छ। उखानलाई लोकोक्ति, आहान, कहावत पनि भनिन्छ।
उदाहरण :-
१) अड्को पड्को तेलको धूप
२) अरूको लाख आमाको काख
३) आफू नमरी स्वर्ग देखिन्न
वाक्यमा प्रयोग
एक हातले ताली बज्दैन = परिवार राम्रोसँग चलाउन श्रीमान र श्रीमतीले एकअर्कालाई साथ दिनुपर्छ, उखान नै छ नि एक हातले ताली बज्दैन ।
ञ) टुक्का :-
लाक्षणिक अर्थ लाग्ने रसिलो झरिलो वाक्यांश टुक्का हो। अभिव्यञ्जनपूर्ण टुक्रे वाक्यलाई टुक्का भनिन्छ।
उदाहरण )
१) आलु खानु :- मर्नु / असफल हुनु
२) ज्यान दिनु :- मरिहत्ते गर्नु
३) डाडुमा पानी तताएर मर्नु :- हुतीहारा हुनु
४) जहाज डुब्नु :- बर्बाद हुनु
५) थाङ्नामा सुताउनु :- धोका दिनु/ झुक्याउनु
वाक्यमा प्रयोग
# पाउ मोल्नु = कार्यकर्ताहरू आफ्नो काम सफल पार्न नेताको पाउ मोल्न तयार हुन्छन् ।
# धोती न टोपी हुनु = चोरबाटो प्रयोग गरेर अमेरिका जान लाखौँ खर्च गरेको हरि अहिले धोती न टोपी भएको छ।
# दिन फर्कनु = दु:खमा बाल्यकाल बिताएको हरिको अहिले दिन फर्किएको छ।
अभ्यास
१) १) दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा
उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
कोरोना महामारीको कारणले धेरै मानिसलाई छाक टार्न समस्या
परिरहेको अवस्था छ। गति छाड्न पनि सकिएन तर गुजारा गर्न निकै अप्ठेरो परेको छ भन्दै
कामदारहरू अलपत्र परेको भावमा कुरा गरिरहेका छन् ।सन्दीपले भन्यो- “
किन राम्रो नेता नछानेको त ? किन रोइस् मङ्गले आफ्नै ढङ्गले भनेको यही हो।” देशमा राम्रो नेता
भएको भए यस्तो समस्या पर्दा जनताका समस्या हटाउन प्रयास हुन्थो कि भनेर सबैले
विचार गरे तर हुने हार दैव नटार भइसकेको थियो । यो सुनेर हरि फटाफट घरतिर गयो भने
छेउको श्याम मुसुमुसु हाँसिरहेको थियो।
२) 2) दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग
गर्नुहोस्।
कलकल बग्ने खोलाको किनारमा बसेर वातावरण नियाल्दा नेपाल साँच्चै
सुन्दर छ तर भोको पेट बसेर रेडियोमा सकारात्मक समाचार सुन्ने रामलखन चौधरी आश पनि
हिस्स बूढी खिस्स दाँत नै भयो। विद्यालयमा सर पढाउँदै हुनुहुन्थ्यो, “मनोविज्ञानले यी वातावरण र तज्जन्य परिस्थितिले
उत्पन्न भएको मानिसको एकीकृत व्यवहारको सिलसिलाबद्ध रूपमा अध्ययन गर्दछ ।सृष्टि,
पालन र संहारको कार्य सम्पादन गर्ने प्रणालीलाई वातावरण विज्ञानले पारिस्थितिक
प्रणाली भन्दछन्।” यता जीवनको
पारिस्थितिक प्रणालीमा
भने दिन लागिसकेको थियो।
Comments
Post a Comment