Skip to main content

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग

नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ।

विकारी –  नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद

अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात

शब्दवर्ग निम्न छन्

१)     नाम

२)     सर्वनाम

३)     विशेषण

४)     क्रियापद

५)     नामयोगी

६)     क्रियायोगी

७)     संयोजक

८)     विस्मयादिबोधक

९)     निपात

 

शब्दवर्ग पहिचान गर्ने आधारहरू

शब्दवर्ग निम्न छन्

१)     नाम

कुनै पनि वस्तुलाई जुन शब्दले चिनाउँछ, त्यो नाम हो। व्यक्ति, वस्तु, पदार्थ वा तीनको भावलाई बुझाउन शब्द नाम हो। ना पहिचान गर्ने आधार निम्न छन्।

·         नाममा विभक्ति चिह्नहरू (ले,लाई,बाट, द्वारा आदि) प्रयोग हुन्छ। विभक्ति चिह्न प्रयोग भएका सर्वनामबाहेकका शब्दहरू नाम हुन्।जस्तो: रामलाई, गरिबीलाई आदि।

·         नाम शब्दमा वचन हुन्छ। गणनीय नाममा ‘हरू‘ थपेर तथा अगणनीय नाममा धेरै, प्रशस्त आदि धेरै बुझाउने विशेषणको प्रयोगले बहुवचन बनाइन्छ।

·         धातुमा आइ, आँइ, याइँ, नु प्रत्यय लाग्दा नाम बन्छ। जस्तो: चोर्नु असल होइन।

·         विशेषण शब्द वाक्यमा कर्ताको रूपमा प्रयोग भएमा नाम बन्छन् । जस्तो: धेरैले प्रश्न गरे।

·         ता, त्व, पन/पना, आदि प्रत्यय लागेर बनेका शब्द नाम हुन् ।जस्तो: सुन्दरता, कृतित्व, भ्रातृत्व, बालकपन/ठिटोपना आदि।

·         को?, के?, कुन ठाउँ? आदि प्रश्नको उत्तरमा आउने शब्द नाम हुन्।

नामका प्रकार

क)     व्यक्तिवाचक नाम- माछापुच्छ्रे, सरस्वती, दशैँ, रामायण, मोरङ, अथर्व आदि।

ख)     जातिवाचक नाम- देश, हिमाल, पहाड, नेवार, दरबार, पशु आदि।

ग)      द्रव्यवाचक नाम- धुवाँ, अक्सिजन, दही, धान, चामल आदि नापतौल गर्न सकिने पदार्थहरू।

घ)      समूहवाचक नाम- जोर, समाज, समुदाय, जन्ती, ताँती, रास, हार,लहर आदि।

ङ)      भाववाचक नाम- सुख, दु:ख, मानवता, पशुपन, गरिबी, वीरत्व, पढाइ, लेखाइ आदि।

नामलाई सजीव र निर्जीव, मूर्त र अमूर्त, गणनीय र अगणनीय, मानवीय र मानवेत्तर आदि विभिन्न प्रकारमा राखेर पनि वर्गीकरण गरिएको पाइन्छ।

 

 

२)     सर्वनाम

नाम, पद, पदावलीको सट्टामा प्रयोग हुने शब्द सर्वनाम हुन् । सर्वनामलाई पहिचान गर्ने आधार यसप्रकार छन्।

·         नामको सट्टामा आउँछन् । कहिलेकाहीँ पद, पदावली वा पूरै वाक्यलाई जनाउन पनि सर्वनामको प्रयोग हुन्छ।

·         सीमित सङ्‌ख्यामा छन् ।

·         विभक्ति प्रयोग भएका नाम बाहेकका शब्दहरू सर्वनाम हुन् । विभक्ति नाम र सर्वनाममा मात्र लाग्छ।

सर्वनामका प्रकार

क)     पुरुषवाचक/व्यक्तिवाचक सर्वनाम- प्रथम पुरुष ( म, हामी), द्वितीय पुरुष(तँ, तिमी, तिमीहरू, तपाईँ, तपाईँहरू, हजुर, हजुरहरू, यहाँहरू), तृतीय पुरुष (यो, त्यो, ऊ, यी, ती, उनीहरू, तिनीहरू, उहाँहरू) र आत्मवाचक (निज, आफू, स्वयं, आफूहरू, एकआपस, एकअर्का, आपसआपस) ।

ख)     दर्शकवाचक सर्वनाम- यो, यी, यिनीहरू, त्यही, यी, यिनी, यहाँ, उही, यही, त्यो, तिनीहरू, ऊ, उनीहरू, ती, तिनी, उनी, उहाँ आदि

ग)      सम्बन्धवाचक सर्वनाम- जो, जो जो, जे, जे जे, जुन, जुनजुन, जोसुकै , जुनसुकै, जेसुकै आदि ।

घ)      प्रश्नवाचक सर्वनाम- के, को, कुन, कसैले, केहीले, उसले, यसले कोही, केही, कुन आदि।

सर्वनाम

विशेषण

त्यो हाँस्यो।

त्यो केटो हाँस्यो।

गौरवलाई केही गर्न देऊ।

गौरवलाई केही काम गर्न देऊ ।

हिजो सबै गए 

हिजो सबै केटा गए ।

तिमीले जुन दिए पनि हुन्छ।

तिमीले जुन जुत्ता दिए पनि हुन्छ।

यो भोलि जान्छ।

यो केटो भोलि जान्छ।

 

 

 

३)     विशेषण

नाम वा सर्वनामको गुण, दोष तथा विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ। विशेषणलाई पहिचान गर्ने केही उपाय निम्नअनुसार छन् ।

क)     विशेषणले नाम र सर्वनामको विशेषता बुझाउँछ।नाम सर्वनाम विशेष्य हुन् ।

ख)     विशेषण कर्ताको स्थानमा, कर्मको स्थानमा र पूरकापेक्षी क्रियाभन्दा पहिले लाग्न सक्छ।

ग)      विशेषणमा विभक्ति लाग्दै । विशेषणमा 'हरू' पनि लाग्दैन ।

घ)      विशेषणभन्दा पहिले आउने विशेषण क्रियाविशेषण हुन्छ।

-          सरोज धेरै असल मान्छे हो।

धेरै – क्रियाविशेषण      असल- विशेषण   

ङ)      षष्ठी विभक्ति (को,का,की,रो,रा,री,नो,ना,नी) नाम वा सर्वनामसँग लागेमा भेदक विशेषण बन्छन् ।

हरिको घर,     मेरो छोरो,      सीताका बाख्रा,   आफ्नो किताब आदि।

च)      नाम शब्दका अगाडि प्रयोग भएका सर्वनाम सार्वनामिक विशेषण हुन्छन् ।

त्यो सामान, यी मान्छे

छ)     नाममा इक, आलु, इलो, ली प्रत्यय लागेमा विशेषण बन्छन् ।

सामाजिक, रसिलो, रसालु, पाल्पाली

ज)      कृत् प्रत्यय (एको,एका,एकी,दो,तो, ने) लागेर कृदन्त विशेषण बन्छन् ।

पढेको मान्छे, पढेका कुरा, पढेकी केटी, पढ्दो मान्छे, लेख्तो कलम, पढ्ने केटो

झ)     कस्तो, कत्रो, कति, कुन, भन्ने प्रश्नको उत्तरमा आउने शब्द विशेषण हुन् ।

विशेषणका प्रकारहरू

क)     गुणबोधक विशेषण:- असल, खराब, नेवारी, मीठो(मिठो), होचो, अग्लो आदि।

ख)     परिणामबोधक विशेषण:- प्रशस्त,अलिकति, धेरै, थोरै, ज्यादा आदि।

ग)      सङ्ख्याबोधक विशेषण:- एक, दुई, तीन, हजार, दोस्रो, हरेक, प्रत्येक, चौथाइ आदि।

घ)      सार्वनामिक विशेषण:- यो घर, त्यो रूख, ती मान्छे आदि मा प्रयुक्त यो, त्यो, ती आदि शब्दहरू ।

ङ)      भेदक विशेषण:- हाम्रो, हरिको , मेरो, आफ्नो आदि।

च)      कृदन्त विशेषण:- सुनेको विषय, हिँड्ने केटो, बढ्दो उमेर आदि।

 

४)     क्रियापद

वाक्यलाई पूरा गर्ने पद नै क्रियापद हो। धातुमा प्रत्यय जोडिएर क्रियापद बन्छन्  तर सबै क्रिदन्त शब्द र असमापक क्रियाहरूलाई क्रियापद लेख्नु हुँदैन । वाक्य टुङ्ग्याउने पद मात्रै क्रियापद हुन् ।

 

 

५)     नामयोगी

नाम, सर्वनाम र विशेषणलाई नामिक पद भनिन्छ । नामिकपदसँग जोडिएर आउने शब्द नामयोगी हुन् ।

नामयोगीका प्रकारहरू

क)     समय बुझाउने:- अघि, वित्तिकै, उपरान्त आदि।

ख)     स्थान बुझाउने:- वर, पर, माथि, मुनि, भित्र, बाहिर, सामुन्ने, समक्ष, तर्फ आदि।

ग)      रीति बुझाउने:- झैँ, समान, अनुसार, बमोजिम, भन्दा आदि ।

घ)      कारण बुझाउने:- कारण, खातिर, लागि, निमित्त आदि।

ङ)       दिशा बुझाउने:- तिर, तर्फ, सामुन्ने, पट्टि आदि।

च)      विनिमय बुझाउने:- ठाउँमा, बदला, बापत आदि।

छ)     अभाव बुझाउने:- बिना, बाहेक, बेगर आदि।

ज)      परिमाण बुझाउने:- भर, भरि, जति आदि।

झ)     साथ बुझाउने:- सित, सँग, समेत, सहित आदि।

 

 

६)     क्रियायोगी

क्रियापदको विशेषता बुझाउने शब्द क्रियायोगी वा क्रियाविशेषण हुन् । क्रियायोगी पहिचान गर्न निम्न उपाय लगाउन सकिन्छ ।

क)     क्रियाको विशेषता बुझाउँछन् ।

हरि राम्ररी पढ्छ।

ख)     आफ्नै विशेषता बुझाउँछन् ।

ऊ सारै राम्ररी पढ्छ।

ग)      विशेषणको विशेषता बुझाउँछन् ।

स्याउ सारै गुलियो छ।

घ)       पूरै वाक्यको वर्णन गर्छन् ।

आज दशैँ हो।

ङ)       धातुमा ई, एर, न, तै/दै, ता/दा, एकाले, नाले, उञ्जेल, लागेका शब्दहरू क्रियाविशेषण हुन्छन् ।

खाई, गई,

खाएर, खेलेर

खान, खेल्न

खाँदै, खल्दै

खाएकाले, खेलेकाले

खानाले, खेल्नाले

खाउञ्जेल, खेलुञ्जेल

च)      अरी, तरी लागेका शब्दहरू क्रियाविशेषण हुन् ।

त्यसरी, यसरी, कसरी, राम्ररी, कस्तरी

छ)     अनुकरणात्मक शब्दहरू क्रियाविशेषण हुन् ।

टुलुटुलु, मुसुक्क , खुसुक्क, कुटुकुटु

ज)      नामयोगी शब्द क्रिया अगाडि प्रयोग भएमा क्रियाविशेषण हुन्छन् ।

तिमी भित्र बस।

राम बाहिर जाऊ ।

झ)     करण कारक र सम्प्रदान कारक बुझाउने तृतीय विभक्ति र चतुर्थी विभक्ति लागेका शब्द क्रियाविशेषण हुन्छन् ।

कलमले चिठी लेख । साइकलबाट आयो। मलाई किताब ल्याइदिनुभयो ।

यहाँ कलमले, साइकलबाट र मलाई शब्द जोडिएको हदसम्म क्रियाविशेषण हुन् तर कलम र साइकल छुट्टै नाम र म सर्वनाम हुन्।  

 

ञ)     कहिले, कहाँ, किन, कसरी, कति, आदि प्रश्नको उत्तरमा आउने शब्द क्रियाविशेषण हुन् ।

 

क्रियाविशेषणका प्रकारहरू

क)     स्थानवचक:- पारि, भित्र, बाहिर, सामुन्ने, सामु, अगाडि आदि।

ख)     समयवाचक:- आज, भोलि, त्यतिञ्जेल, पोहोर, अघि, जहिले, कहिले आदि।

ग)      रीतिवाचक:- राम्ररी, बेसरी, सुटुक्क, मजाले, बल्ल आदि।

घ)      परिमाणवाचक:- धेरै, थोरै, अलिकति, बिलकुल, मात्र आदि।

ङ)      कारणवाचक:- हुनाले, गर्नाले, भएकाले आदि

च)      परिणामवाचक:-  यसर्थ, तसर्थ, फलस्वरूप, परिणामत:, अत:, यसकारण आदि।

 

 

७)     संयोजक

दुई वा सोभन्दा बढी पद, पदावली तथा उपवाक्य जोड्नै शब्द संयोजन हुन् ।निरपेक्ष संयोजक र सापेक्ष संयोजक गरी संयोजक दुई प्रकारका हुन्छन् ।

सापेक्ष संयोजक (मिश्र वाक्य निर्माण गर्ने)

समान एकाइलाई जोड्ने (प्रधान उपवाक्य र अधीन उपवाक्य जोड्ने)

निरपेक्ष संयोजक (संयुक्त वाक्य निर्माण गर्ने)

असमान एकाइहरू जोड्ने (स्वतन्त्र उपवाक्य जोड्ने)

जो,जे, जब, भने,जुन,जहाँ, भनेर,भन्ने, भनी, यदि, जसरी, जसरी, जहिले, तब, भनेदेखि

 तथा, समेत, किंवा, हुनत, यद्यपि, अत: , अतएव, वा,या, कि, किन्तु, परन्तु, हुनत, तथापि, तैपनि, तसर्थ, र, अनि, पनि, तर, अथवा, किनभने, त्यसैले

 

 

८)     विस्मयादिबोधक

मनका भाव वा विकार जनाउने शब्द विस्मयादिबोधक शब्द हुन् । हर्ष, प्रशंसा, तिरस्कार, शोक, घृणा आदि बुझाउने शब्द विस्मयादिबोधक शब्द हुन् ।

विस्मयादिबोधकका प्रकारहरू

क)     हर्ष बुझाउने :- अहा,धन्य, जय आदि।

ख)     आश्चार्य बुझाउने :- ओहो, आम्मै आदि

ग)      घृणा बुझाउने: छ्या, छि, धत्, धिक्कार, हत्तेरी आदि।

घ)      प्रशंसा बुझाउने :- स्याबास्, वाह आदि।

ङ)      शोक बुझाउने:- हा, हाय, ज्या, थुक्क, आत्था, ऐया, उफ, कठै आदि ।

च)      सम्बोधन बुझाउने:- ए, हे, ओ, अरे, रे आदि।

 

 

९)     निपात

निपात वाक्यमा जोडिएर मात्रै अर्थयुक्त हुन्छन् । यिनीहरूको स्वतन्त्र अर्थ हुँदैन । वाक्यमा बल थप्ने र भन्न खोजेको कुरालाई जोड दिने काम मात्रै गर्छन् । वाक्यबाट निपात हटाए पनि वाक्यको अर्थमा फरक पर्दैन । थेगोको काम गर्छन् । निपात वाक्यमा प्रयोग हुँदा केही भावको प्रकटीकरण भएको अनुभूत हुन्छ ।

निपातहरू:- त, नि, पो, नै, रे, लौ, हगी, है आदि।

 

 

अभ्यास

१)     तलका अनुच्छेदबाट रेखाङ्कन गरिएका पदहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् :

क)     वीर व्यक्ति त बिरे जस्तो पो हुनुपर्छकिनभने ऊ पढाइमा मात्र होइन साथीहरूसँग पनि वाह ! भन्न सकिने व्यवहार गरेर प्रिय बनेको छ।

शब्द

शब्दवर्ग

वीर

विशेषण

बिरे

नाम

हुनुपर्छ

क्रियापद

किनभने

संयोजक

मात्र

क्रियाविशेषण

वाह

विस्मयादिबोधक

ख)     मीठो कुराले सधैँभरि राम्रो गर्छ भन्ने छैन। धेरै खायो भने मीठाले पनि स्वास्थ्यमा हानि पुर्‍याउने हुँदा थोरै खानु राम्रो हो

ग)      अरूको त के कुरा आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन

घ)      स्याबास ! तिमी नै प्रथम हुन्छौ भन्ने मलाई पूरा विश्वास थियो भनेर गुरूले त्यो दिन भन्नुभएको कुरा म अझै झलझली सम्झन्छु।

ङ)      बाटाभरि हाम्रै सामल खायो, अनि यहाँ आइपुगेर त हामी दुवैलाई छोडेर ऊ कहाँ भाग्यो भाग्यो ।

च)      आहा ! यहाँले त असाध्यै मीठो कविता पो सुनाउनुभयो भनेर उनले मलाई फुर्क्याए

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...