Skip to main content

कानुन

व्यक्तित्वको अवधारणाको विकास(Development of Concept of personality)

१)     व्यक्तित्वकोको अवधारणाको विकासमा रोम कानुनको महत्त्वपूर्ण योगदान छ। प्राचीन रोममा नगरका धनी मानिसहरू अथवा मालिकहरूलाई व्यक्तिको स्वतन्त्र हैसियत (caput free status) प्राप्त थियो। यस्ता व्यक्तिहरूलाई कानुनी सेवासुविधा पाउने, न्याय पाउने अधिकार थियो। दासहरूलाई प्राणी त मानिन्थ्यो तर स्वतन्त्र मानिसले पाउनु पर्ने अधिकार उनिहरूलाई थिएन त्यसैले उनीहरूलाई व्यक्तिको हैसित प्रदान गरिएको थिएन ।  न्यायको हक माग्ने वा कानुनी उपचार माग्ने अधिकार व्यक्तिमा रहन्थ्यो। कानुनमा व्यक्तित्वको अवधारणाको विकास यही रोम कानुनबाट भएको हो। यसैले व्यक्तित्वको अवधारणाको विकासका लागि रोम कानुनको महत्त्वपूर्ण भूमिका छ।

२)      ग्रिक कानुन तथा हिन्दू कानुनमा पनि व्यक्तिको कानुनी अवधारणाको केही हदसम्म विकास भएको पाइन्छ ।

३)     प्राचीन समाज सरल थियो।यस्तो सरल समाजमा व्यक्तित्वसम्बन्धी विकसित धारणा आवश्यक नै थिएन । त्यो समयको समाजले व्यक्तिलाई हैन कि परिवारलाई ज्यादा महत्त्व दिन्थ्यो। यसरी व्यक्ति सम्बन्धि धारणा भन्दा पारिवारिक महत्त्वको धारणाले ज्यादा स्थान पाएकोले प्राचीन समयमा व्यक्तिको व्यापक अवधारणा विकास हुन पाएन।

४)     दार्शनिक अर्थमा व्यक्तित्वले मानिसको विवेकपूर्ण स्तरलाई बुझाउँछ । सामान्य मानवीय बुझाइमा व्यक्ति भन्नाले मानिस भन्ने बुझिन्छ । कानुनी हिसबले हेर्ने हो भने व्यक्ति र मानिस फरक विषय हुन् । कानुनी आधारमा भन्नुपर्दा अधिकार र कर्तव्यको दायित्व वहन गर्न सक्ने व्यक्ति हो। यसरी कानुनी आधारमा हेर्दा जन्मने सबैमा व्यक्तिको हैसियत हुन्छ भन्ने छैन। यसरी कानुनी रूपमा हेर्दा व्यक्ति र मानिस फरक अवधारणा हुन् ।सबै मानिसमा व्यक्तित्व हुन्छ वा सबै मानिसमा समान व्यक्तित्व हुन्छ भन्ने छैन।कानुनी आधारमा हेर्दा कानुनले बहिष्कार गरेको मानिस व्यक्ति होइन।कानुनले वहिष्कार गरेपछि उसँग कानुनी अधिकार र कर्तव्य नरहने हुनाले उसलाई कानुनी आधारमा व्यक्तिको हैसियत प्राप्त हुँदैन।

५)     व्यक्ति प्राकृतिक(Natural) र  कानुनी (Legal) गरी दुई प्रकारका हुन्छन् । मानिस प्राकृतिक व्यक्ति हो भने कानुनद्वारा हैसियत प्रदान गरी निर्माण भएका सङ्गठन, कम्पनी आदि कानुनी व्यक्तिको रूपमा चिनिन्छन्।

६)     व्यक्तित्व कसैमा कम वा बेसी हुन सक्छ। एक बालकमा वयस्क मानिसको तुलनाम कम व्यक्तित्व रहन्छ किनकि कानुनले उसलाई कम जिम्मेवारी प्रदान गरेको हुन्छ। प्राचीन रोममा दासहरूलाई व्यक्तिको अधिकार प्रदान गरिएको थिएन।

७)     समग्रमा अधिकार तथा कर्तव्यको दायित्व वहन गर्नसक्ने हैसिय प्राप्त हुनु नै व्यक्तित्व हुनु हो। कानुनी हैसिय नभएको मानिस वा कुनै सङ्गठन व्यक्ति होइन।


व्यक्तिका प्रकार ( types of person )

कानुनशास्त्रमा व्यक्तिलाई निम्न दुई प्रकारमा विभाजन गरिन्छ।

क) प्राकृतिक व्यक्ति ( natural person )

ख) कानुनी व्यक्ति ( legal person )

प्राकृतिक व्यक्तिबारे निम्नअनुसार चर्चा गर्न सकिन्छ ।

क) प्राकृतिक व्यक्ति ( natural person )

व्यक्ति हुन निम्न दुई कुरा आवश्यक पर्छ ।

        १) मानिसको औकात ( status)

        २) जीवित जन्म ( born alive )



#मानिसको औकात (status)


१) प्राचीन समयमा दासहरूलाई / तल्लो वर्गका मानिसहरूलाई  कानुनी औकात प्रदान गरिएको थिएन।प्राचीन रोमको कानुनले देश निकाला गरेका, थुनुवा, र शत्रुको कैदमा रहेकालाई व्यक्ति मान्दैनथ्यो। यस्तै प्राचीन  रोममा महिलालाई कानुनी औकात प्रदान गरिएको थिएन ।

२) हिन्दू कानुनअनुसार सन्यास लिएका मानिस मरेसरह मानिन्छन् । उनीहरूको कानुनी दायित्व हुँदैन ।

३) नैतिक  पतन हुने अपराध गर्ने व्यक्ति / कानुनले बहिष्कार ( बहिष्कार गर्ने चलन अचेल नभएको ) गरेको व्यक्तिको पनि औकात हुँदैन ।

४) होस् ठेगान नभएको मान्छेसँग व्यक्तित्व प्राप्त गर्ने पर्याप्त औकात हुँदैन । यस्ता मानिसको व्यक्तित्व अपूर्ण हुन्छ। (होस ठेगान नभएको मानिसले गरेको लेनदेनलाई कानुनी मान्यता छैन )

५) नाबालकको पनि पूर्ण व्यक्तित्व हुने गरी औकात हुँदैन । ( उमेर पुगेपछि मात्रै अंश चलाउन पाउने अधिकार हुन्छ।)


औकातको सम्बन्ध अधिकार र कर्तव्यको पालनासँग सम्बन्धित छ। अधिकार उपभोग गर्न नसक्ने र कर्तव्यको दायित्व पूरा गर्न नसक्ने मानिसको औकात हुँदैन । यसरी अधिकार र  कर्तव्यले निर्माण भएको क्षमता वा परिपक्वता नै औकात हो। औकात भनेको कानुनी हैसियत हो।




























ख) जीवित जन्म(Born Alive):

प्राकृतिक व्यक्तिले कानुनी हैसियत पाउने मुख्य आधार नै जीवित रूपमा जन्म हुनु हो। मृत अवस्थामा व्यक्तिले कुनै कानुनी हैसिय पाउँदैन। व्यक्तित्व जीवित जन्मबाट सुरु हुन्छ र मृत्युसँगै समाप्त हुन्छ। जीवित रूपमा जन्मिए पनि मानवीय गुण रहेनछन् भने त्यस्तो बच्चाको पनि कानुनी हैसिय हुँदैन। विकृत रूप/ अनुहार नभएको बच्चाले कानुनी व्यक्तित्व पाउने अवस्था हुँदैन।

गर्भमा रहेको बालकको कानुनी हैसियत (Legal status of Feutes)

व्यक्तिको हैसियत प्राप्त गर्न बालक जीवित अवस्थामा जन्मिएको हुनुपर्छ भन्ने मान्यता छ। गर्भमा रहेको बच्चाको विषयमा कानुनले धेरै किसिमका अधिकारको व्यवस्था गरेको हुनाले गर्भमा रहेको बालकसँग पनि व्यक्तिको हैसियत छ भन्ने अवस्था पनि रहन्छ।सिद्धान्तअनुसार नजन्मिएको बालक भौतिक संसारमा पाइला नटेकेको हुनाले उसलाई व्यक्ति मान्न मिल्दैन। सामान्य हिसाबले हेर्ने हो भने कानुनले जीवित व्यक्तिको विषयमा व्यवस्था गर्छ तर कानुनले नजन्मिएको बालको हक संरक्षणमा पनि व्यवस्था गरेको हुन्छ।

१)     गर्भमा रहेको बालकलाई स्वस्थ अवस्थामा जन्मन पाउने अधिकार कानुनले सुरक्षित गरेको छ। यो बच्चाको अधिकारभन्दा पनि आमाको प्रजनन् स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषय हो। आमाको जीवन रक्षाको अधिकारमा गर्भमा रहेको बालकको अधिकार पनि समेटिएको हुन्छ।

२)      गर्भमा रहेको बालकलाई हानी पुर्र्याउने कार्य गर्न कानुनले बन्देज लगाएको छ। निश्चित समय पार गरेको गर्भलाई हानी पुर्र्याउने वा गर्भ पतन गर्ने कार्यमा कानुनले रोक लगाएको छ। भारतीय दण्ड संहिताको दफा ३१५ ले त्यस्तको कार्यलाई बालक नष्ट (child destruction) अपराध अन्तरगत राखेर सजायको व्यवस्था गरेको छ। बेलायती कानुन प्रणालीले पनि निश्चित समय पार गरेको गर्भलाई नष्ट गरे वा हानी गरे बालक नष्टको अपराध अन्तर्गत सजायको व्यवस्था गरेको छ।

३)     हिन्दु कानुनमा बच्चा गर्भमा रहे पनि ऊसलाई जन्मेबराबर ठानिन्छ। गर्भमा रहेको बच्चालाई सम्पत्ति लगायताका अधिकारको व्यवस्था गरिएको हुन्छ तर यसको उपभोगका लागि यसको जीवित जन्म आवश्यक हुन्छ।

४)     आमालाई निश्चित समयसम्म गर्भ तुहाउने अधिकार दिइएको छ। उक्त समय कटेपछि गर्भमा रहेको बच्चालाई कुनै प्रकारको हानी हुने कार्य गरे वा गर्भ तुहाएमा ज्यानसम्बन्धि अपराध अन्तर्गत सजाय दिइने व्यवस्था गरिएको छ। नेपालको कानुन अनुसार गर्भमा रहेको बच्चालाई भारत र बेलायतको तुलनामा ज्यादा व्यक्तित्व प्रदान गरिएको छ।

यसरी बालक तुहिने कार्य गर्नु आमाको प्रजनन् अधिकारको हनन् मात्रै नभएर बालकको बाँच्न पाउने अधिकारको पनि हनन् भन्ने कुरालाई नेपालको कानुनले जोड दिएको छ। गर्भमा रहेको बालकलाई स्वस्थ जन्मन पाउन अधिकार, हानी नोक्सानी हुनबाट बच्न पाउने अधिकार, सम्पत्तिको अधिकार समेत प्रदान गरेकोले कानुनले गर्भमा रहेको बच्चाको व्यक्तित्व स्वीकार गरेको देखिन्छ तर यस्तो अधिकार प्रदान गर्दा कानुनले बच्चा जीवित जन्मिएको कल्पना  गरेर यस्तो अधिकार दिइएको हुन्छ। यी सबै अधिकार बच्चा जन्मिएपछि मात्रै प्रयोग गर्न पाउने र कानुनले गर्भमा नै दिइएको भनिएका अधिकार पनि जीवित जन्मिएको भन्ने महसुसका आधारमा दिइएको हुनाले व्यवहारिक रूपमा गर्भमा रहेको बच्चाको व्यक्तित्व पनि जीवित जन्मपछिको व्यक्तित्व नै हो।

 

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति  ग) प्राविधिक शब्द:- कुनै पनि किसिमको विज्ञान, प्रविध

कारक र विभक्ति

कारक र विभक्ति भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका   विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वारा   म पुस्तक पढ्छु । कर्म कामको असर पर्ने (के/कसलाई ?) द्वितीय लाई/कन तिमीले राम लाई पिट्यौ। करण काम गर्ने साधन हेतु/कारण (केले / केको सहायता?) तृतीय ले/बाट/ द्वारा ऊ कलम ले लेख्छ । ज्वरो ले थला परियो । सम्प्रदान जसका लागि काम गरिन्छ (प्रापक/ कसलाई ?) चतुर्थी लाई/लागि/ निम्ति बाबाले आमा लाई सारी किनिदिनुभयो। अपादान छुट्टिने स्थान/ सुरु हुने समय   (कहाँबाट ? )

नेपाली भाषाका प्रयोगकर्ता अप्ठ्यारोमा: मार्गदर्शनको अभाव

विमल गौतम gautambro@gmail.com शब्दब्रह्म भनिन्छ । यसरी हेर्दा भाषालाई भगवानको रूपमा मानिएको पाइन्छ । कुनैपनि जातिका लागि उसको भाषा नै उसको पहिचानको आधार हो। नेपाल भाषामा धनी छ । यहाँ १०० भन्दा ज्यादा भाषाहरू बोलिने गरिएको बताइन्छ। नेपाली भाषालाई   नेपालमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पति हुन् । नेपालका परिचय हुन् । त्यसैले सबै भाषाको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आवश्यक छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नो मातृभाषाको ज्ञान लिन पाउनुपर्छ । दोस्रो भाषाको रूपमा विभिन्न जातजातिले नेपाली भाषा सिक्ने गरेको पाइन्छ । विभिन्न जातजातिहरू आफ्नो भाषाको उचित संरक्षणमा   सरकारले ध्यान नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । संघीय सरकारले सबै भाषालाई उचित स्थान दिन नसकेको तथ्य त छँदै छ तर स्थानीय सरकारले स्थानीय संस्कृति र भाषाहरूको विकासमा गर्नसक्ने योगदान समेत नगरेको देख्दा उदेक लाग्ने अवस्था बनेको छ ।भाषा र संस्कृति गुम्नु भनेको आफू हुनुको अर्थ नै नरहनु हो। यदि कोही मैथ