Skip to main content

तपाईँको काँध गलेन प्रधानमन्त्रीज्यू


चैत्र २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देशको नाममा सम्बोधन गर्दै कोरोना विरुद्ध सरकारका कदम प्रभावकारी भएको बताउँदै गर्दा मेरो दिमागले अनेक मन्थन गर्दै गयो ।लकडाउन लगायतका नीति प्रभावकारी भएपनि कोरोना विरुद्ध सरकारले अन्य काम हुनुपर्ने जसरी नगरेको म जस्तो सामान्य नेपालीको बुझाइ छ।जनतालाई कोठाभित्र थन्क्याएर सरकार पनि कोठाभित्रै थन्किएको यथार्थ सबैमाझ छ ।झन् आपद्का बेला धमिलो पानीमा माछा मार्न खोज्ने सरकारमा बसेकाहरूको चरित्रले त नेपाली जनतामा ठूलो आघात पुगेको छ ।

सन् २०१९ को डिसेम्बर २१ का दिन (२०७६ पुष १५ गते ) चीनले हुबेई प्रान्तको बुहान शहरमा विश्व स्वास्थ्य सङ्गठनलाई निमोनिया जस्तो नयाँ रोग देखा परेको जानकारी गरायो । बुहानको सामुद्रिक खाद्यान्न बजार आसपासका मानिसमा सङ्क्रमण फैलिएको हुनाले त्याँहाको बजार बन्द गरेर चीन सरकारले कोरोना विरुद्ध आफ्नो अभियानलाई तीब्रता दिन थालेको थियो तर रोगको कारणको स्पष्ट पहिचान भने भइसकेको थिएन।जनवरी ७ मा आइपुग्दा चीनका अधिकारीहरूले यो रुघाखोकी तथा सार्सजस्ता रोगको भाइरससँग मिल्दोजुल्दो कोरोना भाइरस रहेको र यसको नाम २०१९-एनसीओभी नामाकरण गरे ।

जनवरी ११ मा चीनमा ६१ बर्षका बृद्धको मृत्यु भयो ।यसपछि जनवरी १३ मा थाइल्याण्डमा र जनवरी १६ जापानमा यसका विरामी देखापरे ।फेब्रुअरी २७ सम्म आइपुग्दा विश्वका धेरै मुलुकमा कोरोना फैलिसकेको थियो र ८२ हजारभन्दा बढी सङ्क्रमित तथा २ हजार ८ सयको मृत्यु भैसकेको थियो ।यी सबै घटना भइरहँदा के नेपाल सरकार चलाइरहेकाहरू जानकार थिएनन् होला र ? नेपाल चीनको छिमेकी भएकाले याहाँ सङ्क्रमणको ज्यादा जोखिम हुनेकुरा बुझ्नुपर्ने होइन र ? यस्तो अवस्थामा सम्भवित सङ्क्रमण बारे पूर्व तयारी त परको कुरा नेपाल सरकारले सचेत रहनलाई सामान्य अभियान चलाउनु समेत आवश्यक ठानेन । सरकारी अधिकारीहरू निद्रामै रहे ।फागुन १७ गते (२९ फेब्रुअरी ) मा विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोना भाइरस (कोभिड१९) को अति उच्च जोखिममा रहेको बतायो । यसपछि नेपाल सरकारका अधिकारीहरू निद्राबाट बिउँझिएजस्ता भए ।अब मात्र कोरोनाको विरुद्ध निर्णय गर्न सुरु गरे ।भाषण जति गरेपनि कोरोना विरुद्धको आन्तरिक तयारी भने शून्य रहको पछिल्ला घटनाहरूले देखाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले झस्काएपछि पनि नेपालका नेता मन्त्रीहरूले आफ्नो क्षमता देखाउन सकेनन् ।उनीहरूले गरेको महत्त्वपूर्ण निर्णय भनेको विद्यालय तहका परीक्षा चैतको ५ गतेसम्म गर्नू भन्ने नै थियो ।यो बीचमा थुप्रै कार्यहरू गर्न सकिन्थ्यो ।प्रदेशहरूमा नयाँ प्रयोगशाल निर्माण गरेर कोरोनाको परीक्षण त्यहीँबाट गर्ने व्यवस्था गर्न सकिन्थ्यो ।परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री, परीक्षण किट, पीपीई आदिको तयारी प्रारम्भमा नै गर्नु पर्ने होइन र ? सरकार यो अवधिमा के हेरेर बसेको थियो ? क्षेत्रीयत तहमा कोरोनाको परीक्षण हुन नसकेकोले नै प्रदेश ५ रुपन्देही सैनामैना नगरपालिकाका बाबुराम थापाको मृत्यु भएको हो । यदी समयमै परीक्षण हुनसकेको भए उनको रोगको पहिचान भई उपचार हुनसक्ने सम्भावन थियो भन्ने मेरो ठम्याइ हो ।नेपाल सरकार यिनको हत्यारा हो ।

समाजमा विस्तारै कोरोनाको आतङ्क फैलदै गयो । मानिसहरू कोरोनाको विषयमा त्रास बोकेर बस्न थाले ।सामान्य ज्वरो आए पनि कोरोना नै हो कि भन्ने आशङ्का बढ्न थाल्यो । उपचार गराउन अस्पताल जानेहरूलाई अस्पतालले लिनै छोडे ।सामान्य मानिसभन्दा त डाक्टरहरू पो झन् डराएको पाइयो ।नेपाल सरकारको नेतृत्वले मुखले जति प्रचार गरेपनि कामले सिन्का भाँचेको रहेनछ । डाक्टरहरूलाई मनोवैज्ञानिक रूपमा तयार गरेर राख्नुपर्नेमा त्यति काम पनि गरेको रहेनछ ।भौतिक र मानसिक रूपमा सबल बनाउनुपर्ने डाक्टरलाई सरकारले निरीह बनाएर राखेको रहेछ । नत्र त बिरामी देख्दा तर्सने अवस्था किन आउँथ्यो ? बिरामी देख्दा डाक्टर भाग्ने अवस्था सरकारले नै बनाएको हो ।

एसईई दिने परीक्षार्थीहरू परीक्षा दिन तयार भएर बसेका थिए ।नेपालमा परीक्षा दिनका लागि डेरामा बस्नुपर्ने अवस्था हराएको छैन । परीक्षाकेन्द्र नजिक विद्यार्थीहरू डेरा खोजेर बसिसकेका थिए । सरोकारवालाले पहिल्यैबाट परीक्षा स्थगित गर्न नसुझाएका पनि होइनन् ।सरकारले टेरेन ।परीक्षा गराएरै छाड्ने कुरा गर्र्यो । चैत्र ५ गते दिनभर परीक्षा गराउने रट लगाइरहेको सरकारले एकाएक साँझमा परीक्षा सारेको निर्णय सुनायो ।यो एक्कासि त्रास बढाउने काम थियो । यो नेपाल सरकारको स्वविवेकको निर्णय थिएन ।स्थगीत नै गर्न मुखै पर्खिनु पर्ने थिएन ।सरोकारवालाले भनेको नसुन्ने अनि एकाएक त्यो बेला के सपना देख्यौ सरकार ? कति विद्यार्थी त भोलिपल्ट परीक्षाकेन्द्र समेत पुगे अनि मात्र थाह पाए कि परीक्षा नहुने रहेछ ।सरकार तिमीले समय उचित निर्णय गर्न किन नसकेको ? के तिमीलाई लायक छु जस्तो लाग्छ ?

कोरोना सरुवा रोग हो ।विदेशबाट आउने मानिसले यसलाई लिएर आउन सक्छन् ।यो कुरा सरकारका अधिकारीलाई थाह थिएन होला र ? नाका बन्द गर्न धेरैले आवाज उठाए । सरकारले सुनेन वा सुन्नु उचित ठानेन अथवा भनौँ नेपाल सरकारलाई आफ्ना जनताको आवाज सुन्ने बानी परेकै छैन ।सीमामा निर्बाध आवागमन भयो । हवाइजहाजहरू उडिरहे । केही अघिसम्म त पर्यटन वर्षको पो नारा लगाइरहेको थियो त नेपाल सरकार र यसका मन्त्रीहरू।कोरोना सङ्क्रमित बढ्दै गरेका देशहरूबाट भटाभट मानिसहरू आइरहे ।देशभित्र अवस्था सामान्य भए पनि बाहिरबाट मानिस आउन रोक्नु पर्छ भन्ने सोच किन नआएको होला ? लकडाउन पछि मात्र सरकारले सीमा बन्द गर्ने आँट देखायो । सायद पहिल्यै सीमा बन्द गर्दा अर्कै अर्थ लाग्ने डर थियो सरकारलाई ।जब भारतले सीमा बन्द गर्र्यो अनि मात्र नेपाल सरकारले पनि लकडनउन र सीमा बन्दको निर्णय गर्र्ये ।यसमा केही सम्बन्ध छ भनेर शङ्का किन नगर्ने ? कम्तिमा नेपाल सरकारको हैसियत याहाँ पनि देख्न पाइन्छ ।कोरोना महामारी फैलन सक्छ भनेर पनि डब्लूएचओले भनिदिनुपर्ने ।यहाँ भूपि शेरचनको सम्झन मन लाग्छ अनि उनको हामी कविता-
हामी आफूखुशी कहिल्यै मिल्न नसक्नेकसैले मिलाइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने………………………………..
हामी वीर छौँ
र बुद्धू छौँ ……..

सरकारले ढिला गरेर भए पनि पीपीई र परीक्षणका आवश्यक सामग्री खरिद गर्न एउटा कम्पनीलाई जिम्मा दियो ।एकचरण 
सामग्री नेपाल आइपुग्यो पनि ।अब सहजै होला, डाक्टरहरू विरामी देखेर डराउने दिन गयो होला भन्ने सोच्न लागेका नेपालीलाई झन पीडा थपियो जब स्वास्थ्य उपकरण खरिद प्रकरण विवादमा तानियो ।प्रधानमन्त्रीका विश्वासपात्रहरू नै विवादमा तानिए ।अख्तियार दुरुपयोग गरेको आरोप लाग्यो ।नेपालका नेताहरूले जिम्मेवारी लिने काम कहिल्यै गर्न जानेनन् , यो पटक पनि जिम्मेवार भएनन् ।मन्त्री हुन रहर गर्नेहरू छन् । सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्नेहरू छन् ।मन्त्री भएपछि जिम्मेवारी पालन गर्ने भएनन् ।बरु सहमतिको सरकार भन्न भ्याए कसैकसैले ।नेपाली नेताहरू सत्तामा पुग्न र भ्रष्टाचार गर्न चाहन्छन् तर आफ्नो जिम्माको काम गर्ने चाह राख्तैनन् भन्ने यो उदाहरणले पनि प्रमाणित गरेको छ । आफू निर्दोष भए विवादमा तानिए पछि दुवै मन्त्री ईश्वर पोख्रेल र भानुभक्त ढकालले पत्रकार सम्मेलन गरेर सत्यतथ्य जानकारी गराउँदा उनीहरूको उचाइ त घट्ने थिएन होला । अलिकता पनि नैतिकता रहेको भए यी दुईले राजीनामा दिइसक्नुपर्ने हो । मन्त्री कहलिनकै लागि पद ओगटेर बस्नु त्यसमाथि अख्तियार दुरुपयोगको विवादमा तानिनु, कुन नैतिकताले पदमा बसिरहन दिएको होला त ?

प्रधानमन्त्रीलाई विवादमा तानिएका मन्त्री र सल्लाहकारको झुण्डलाई छोड्न किन गाह्रो परेको होला ।मन्त्री र सल्लाहकारको समूहले नै आफ्नो नेतृत्वको सरकारलाई असफल बनाउन लागि परेको  वलीले नबुझेका होलान् र? बुझेका भए किन यही असफल र विवादित समूहसँग सति जान खोजेका होलान् त हाम्रा प्रधानमन्त्री ? के यसमा उनले बादलमा चाँदिको घेरा देखेका छन् त ? यदि देशकै लागि सोचेका भए प्रधानमन्त्रीले गम्भीर हुने बेला होइन र ?  परेको बेलामा देश र जनताको लागि कार्यकुशलता देखाउनु त परै जाओस् धमिलो पानीमा माछा मार्ने झुण्ड बोकेर देशमा समृद्धि आउला र प्रधानमन्त्रीज्यू ? देश र जनता भाडमा जाऊन् आफूलाई मन्त्री हुनु थियो भैगइयो भन्नेहरूलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न । कति काँध थापिरहने प्रधानमन्त्रीज्यू ? कि तपाईँको पनि त्यसमा केही स्वार्थ छ ? यी काण्डैकाण्ड मच्चाउनेको झुण्ड कति बोक्नुभएको, तपाईँको काँध गलेन प्रधानमन्त्री ज्यू ?

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आदिको सङ्कलन सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति  ग) प्राविधिक शब्द:- कुनै पनि किसिमको विज्ञान, प्रविध

कारक र विभक्ति

कारक र विभक्ति भाषाको लघुतम एकाइ वाक्य हो । वाक्यको आधारभूत अङ्ग क्रियापद हो। वाक्यमा अन्य पद क्रियासँगै सम्बन्धित भएर प्रयोगमा आउँछन् ।यसरी वाक्यमा क्रियापदसँग नामिक पदको(नाम, सर्वनाम, विशेषण) सम्बन्ध नै कारक हो।कारकलाई निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका   विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वारा   म पुस्तक पढ्छु । कर्म कामको असर पर्ने (के/कसलाई ?) द्वितीय लाई/कन तिमीले राम लाई पिट्यौ। करण काम गर्ने साधन हेतु/कारण (केले / केको सहायता?) तृतीय ले/बाट/ द्वारा ऊ कलम ले लेख्छ । ज्वरो ले थला परियो । सम्प्रदान जसका लागि काम गरिन्छ (प्रापक/ कसलाई ?) चतुर्थी लाई/लागि/ निम्ति बाबाले आमा लाई सारी किनिदिनुभयो। अपादान छुट्टिने स्थान/ सुरु हुने समय   (कहाँबाट ? )

नेपाली भाषाका प्रयोगकर्ता अप्ठ्यारोमा: मार्गदर्शनको अभाव

विमल गौतम gautambro@gmail.com शब्दब्रह्म भनिन्छ । यसरी हेर्दा भाषालाई भगवानको रूपमा मानिएको पाइन्छ । कुनैपनि जातिका लागि उसको भाषा नै उसको पहिचानको आधार हो। नेपाल भाषामा धनी छ । यहाँ १०० भन्दा ज्यादा भाषाहरू बोलिने गरिएको बताइन्छ। नेपाली भाषालाई   नेपालमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पति हुन् । नेपालका परिचय हुन् । त्यसैले सबै भाषाको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आवश्यक छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नो मातृभाषाको ज्ञान लिन पाउनुपर्छ । दोस्रो भाषाको रूपमा विभिन्न जातजातिले नेपाली भाषा सिक्ने गरेको पाइन्छ । विभिन्न जातजातिहरू आफ्नो भाषाको उचित संरक्षणमा   सरकारले ध्यान नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । संघीय सरकारले सबै भाषालाई उचित स्थान दिन नसकेको तथ्य त छँदै छ तर स्थानीय सरकारले स्थानीय संस्कृति र भाषाहरूको विकासमा गर्नसक्ने योगदान समेत नगरेको देख्दा उदेक लाग्ने अवस्था बनेको छ ।भाषा र संस्कृति गुम्नु भनेको आफू हुनुको अर्थ नै नरहनु हो। यदि कोही मैथ