Skip to main content

दीप प्रज्वलनले तातेको सामाजिक संजाल र यसको मनोवैज्ञानिक राजनीति

शुभंकरोती कल्याणम् आरोग्यं धनसंपदा
शत्रुबुध्दि विनाशाय दीपज्योति नमोस्तुते: ।। यो मन्त्र जप्दै आमा दियो घरमा साँझबत्ती बाल्नुहुन्थ्यो ऊ बेला अनि पानीले अभिषेक गर्नुहुन्थ्यो। बाल्नुको तात्पर्य थाह नभएपनी त्यो बेलाको मेरो बालहृदय दियोको प्रकाश जस्तै उज्यालो हुन्थ्यो। आँखा दीपज्योतिमा निमग्न हुन्थे।आमासँगै  म पनि दुई हात जोडेर नमन गर्थेँ । सम्झन्छु, बहुत आनन्द थियोे। सायद स्वर्गको आभा झर्थ्यो त्यो पल। म ज्योतिभित्र गराउँथे। बिजुली आएको थिएन। मट्टीतेलको टुकी बल्थ्यो। मेरा आँखाभने दियोघरको उज्यालोमा नै हुन्थ्यो। केही वर्षपछि बिजुुली आयो। दियोले कम महत्त्व पायो। अहिलेपनी तिहारमा गरिने अनेक बिजुलीका झिलिमिली भन्दा पनि दियोको उज्यालोले ध्यान तान्छ। अचेल घरको पूजाकोठामा त्यो बेलाको जस्तो माटोको दियोघर नभए पनि बत्ती त नियमित नै बाल्ने गरिन्छ।

चैतको २३गते साँझ कोरोनाको नकारात्मक शक्ति भगाउने भन्दै नेपालका धेरै शहरमा ७ बजेर ७मिनेटपछि दियो बालियो। शंखघोष गरियो। लगत्तै  सामाजिक संजालमा यो बिषयमा बहस हुनथाल्यो। सकारात्मक र नकारात्मक कुराहरू पढ्न पाइयो। मैले विगत सम्झने मौका पाएँ। महसुस गरेँ। साँच्चै उज्यालोमा शक्ति छ। आनन्द छ। अनि अहिले कोरोनाको त्रास पनि छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५का दिन साँझ ९ बजे सबै भारतीयलाई दीप प्रज्वलन गर्न अनुरोध गरे। प्रकाशको तागत अथाह हुने आशय व्यक्त गर्दै उनले कोरोना विरुद्ध राष्ट्रिय  ऐक्यबद्धता जनाउन अनुरोध गरे। यो सबै गरेर उनले सम्पूर्ण भारतबासीलाई कोरोना त्रासबाट मुक्त गर्न ठूलो कार्य गरेका छन्, असल अभिभावकको भूमिका निभाएका छन् ।त्रासमा बाँचेका जनताको मनोवैज्ञानिक उपचार गरेका छन्। घरघरमा एक्लैएक्लै थुनिएको भएपनी कोही  एक्लो छैन भन्ने सन्देश दिन मोदी सफल भएका छन्। तर यसको यो एउटा मात्रै पक्ष हो। यो विषय मोदीको धार्मिक आस्था तथा राजनीतिक स्वार्थसँग पनि जोडिएको विषय हो। सायद मोदी सफल भए। अब नेपालमा यो दीप प्रज्वलन किन भयो त, न प्रधानमन्त्रीले भने न राष्ट्रपतिले नै? के नेपालमा भारतीय प्रभाव नै हो त? कोरोना दियो बालेर भाग्छ त ? अहिले यस्तै प्रश्नहरू सामाजिक संजालमा देख्न पाइछ। जसबारे तल चर्चा गरिने छ।

नेपालमा नेपाल सरकार कोरोनाको त्रास फैलाउन त सफल भयो तर यस्तो अवस्थामा रोगबाट जनतालाई जोगाउन चाल्नुपर्ने उचित कदम चाल्न सकेन। गरेका कार्यहरूपनी जनतामाझ विश्वसनीय बन्न सकेनन्।जनतालाई राहतको खाँचो थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनले पनि जनताबीच छाएको मनोवैज्ञानिक खाडल पुर्न सकेन। झन् सङ्कटको बेला सरकारका जिम्मेवार मन्त्री नै भ्रष्टाचारमा मुछिएको हल्ला चल्यो। जनता झन् तड्पिए ।जनतालाई सहारा चाहिएको थियो। जनताका आँखामा नेपाल सरकार असल अभिभावक बन्नै सकेन। अर्कोतर्फ नेपालमा धेरै मानिसहरू  हिन्दू र हिन्दू प्रभावित छन्। नेपालमा राजा हुँदा विश्वभरिका हिन्दूका लागि आस्थाको केन्द्र राजा रहेका थिए। हिन्दूधर्मको संरक्षकको अभाव महसुस भएको बेलामा धेरै हिन्दूहरूले मोदीलाई हिन्दूधर्मको रक्षकको रूपमा पनि हेरेको पाइन्छ। नेपालीहरूले मोदीका कदमलाई सधैं सजगतापूर्वक नियालेका छन्। यसैबीच भारतका प्रधानमन्त्री मोदीले दियो बाल्नआह्वान गरे।  राम्रो साइत रहेको भन्दै ज्योतिषीको हवाला दिँदै सामाजिक संजालमा  त्यही दिन साँझ ७बजे (भारतमा ९बजे भनिएको थियो) दीप प्रज्वलनका लागि आह्वान गरियो। नेपालीलाई भाजको स्थापना दीवस वा राजनीतिक स्वार्थसँग सरोकार थिएन। उनीहरूलाई सहारा चाहिएको थियो। दीपप्रज्वलनसँग परिचित नेपालीलाई यो सहाराको माध्यम मात्रै भएको हो।अभिभावक विहीन अवस्थामा एकत्यान्द्रो आश । जसले जेजे भनेपनि दीप प्रज्वलनले नेपालीमा आशको सञ्चार भरिएको छ। मानिस उत्साही भएका छन्। यो सकारात्मक हो।

दीपज्योति परब्रम्ह दीपज्योतिर्जनार्दन
दीपो हरतु मे पापं दीपज्योतिर्नमोsतुते।। संस्कृतको यो श्लोकले परब्रह्मस्वरूप,संसारको दु:ख भगाउने र पाप नाश गर्ने यस्तो दीपज्योति (दिव्य ज्योति)लाई नमस्कार गर्दछु भनेर भनेको छ।यसरी हेर्दा असहाय भएकाबेला हिन्दुधर्म प्रभावित जनताले दीप बालेर दु:ख भगाउने अवसर खेर फाल्ने कुरै भएन। प्रश्न उठ्छ, के दियो बालेर कोरोना भाग्छ त? पक्कैपनी भौतिक कोरोना भगाउन भौतिक उपचार कै खाँचो पर्छ। हिन्दू धर्मले पनि यसलाई स्वीकार गर्छ।तर दियोबालेर मनमा बसेको कोरोनाई भगाउन सहयोग पुगेको छ। नेपालीले त्यही गरेका हुन्।

सामाजिक संजालमा केही समय अगाडि इसाई धर्मका पादरीहरुले प्रार्थना गरेर रोग भगाउन गरेका प्रयासका दृश्यसामग्रीहरू भाइरल भएका थिए। इसाई धर्मको अतिक्रमणको चपेटामा परेको महसुस गरेका धेरैले आलोचना गरे।त्यो समय चुपलागेर बसेकाहरूले अहिले बत्तीबालेर कोरोना भगाउने प्रयास गरेको भन्दै व्यंग्यको झटारो हानिरहेका छन्। यसबाहेक यसलाई हावामा उडाउनेहरूमा केही पढेलेखेका र पश्चिमा बुध्दिमात्रले भरिएका (पश्चिमका कुरा मात्रै विज्ञानसम्मत छ्न् भन्ने ठान्ने ) आधुनिक भनाउँदाहरू छन् । हो दीप प्रज्वलन गर्दा खर्च भएको तेल गरीबलाई दिएको भए उसले खान पाउँथ्यो तर त्यही तेलको बत्ती बालेर उसले आफ्नो त्रसित मनमा जागरण ल्यायो त के गल्ती भयो ?

बत्तीले हिन्दू, मुस्लिम,बौद्ध, इसाई आदि जुनसुकै धर्ममा पनि स्थान पाएकै छ। सबैकुरा उज्यालोकै कारणले प्रकाशित छ। ज्योति नै शक्ति हो भन्ने सबै धर्मले स्वीकार गरेको कुरा हो। त्यसैले ज्योतिको विरोध कसैले गर्नुहुँदैन भन्ने मेरो बुझाइ छ। कसैको प्रार्थना गर्ने शैलीलाई आलोचना गर्नुको सट्टा खुला हृदयले सम्मान गर्न सक्नुपर्छ। अतिवाद ठीक होइन। धार्मिक अतिक्रमण रोक्न आफ्ना राम्रा पक्षको राम्रोसँग उजागर गर्नुपर्छ। अन्यधर्मको आलोचनाले समाजलाई कुरूप पार्छ। आफू सबल बन्ने हो अरुलाई दुर्बल देखाउने होइन। धार्मिक सहिष्णुता हाम्रो पहिचान हो ।

समग्रमा यो दीप प्रज्वलनको घटनाले पनि हामी कति भाँडिएका छौँ भन्ने देखाएको छ। हाम्रो राजनीतिक  नेतृत्वको औकात पनि देखाएको छ।यो सबै विचार गर्दै एकतामा बल हुने कुरालाई सबैले बुझ्नुपर्ने देखिन्छ।

Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...