Skip to main content

हिन्दी, सरिता गिरी र राष्ट्रवाद !!!

हिन्दीभाषा, सरिता गिरी र राष्ट्रवाद !!!  - विमल गौतम
gautambro@gmail.com


अन्तर्राष्ट्रिय सन्दर्भका उदाहरण र छिमेककै नेतृ सोनिया गान्धीको अवस्था देखिसकेपछि अङ्गिकृत नागरिकले निश्चित तहभन्दा माथि गएर सरकार चलाउने कुरालाई बन्देज लगाउनुपर्छ भन्ने मेरो पनि बुझाइ छ। तर अङ्गिकृत नागरिक हो भन्दैमा तथानाम भन्न पाइन्छ र यस्ता नागरिक चाहिँ देशद्रोही नै हुन्छन् भन्ने कुरामा चाहिँ एकछेउ पनि सहमत हुन सकिन्न ।पछिल्लो समय बजारमा सरिता गिरीको चर्चा छ। उनलेे आफू नेपालकि बुहारी भएको र नेपाली भएको संचार माध्यममा भनिरहनुपरेको छ। उनी इन्डियाकी सुराकी भएको चर्चा सामाजिक संजालमा देख्न पाइन्छ। उनले आफूले देख्दा लिम्पियाधुरा भारतकै नक्सामा भएको र कालापानी क्षेत्रमा बनेको १७ किलोमिटर सडकबारे भने भारतसँग कुरा गर्नुपर्ने भनेर एक टेलिभिजन अन्तर्वार्तामा भनेको देख्न सुन्न पाइयो। उनले लिम्पिधुरा लगायतका क्षेत्र नेपालको हो भनेर सरकारले स्पष्ट पार्न नसकेको बताइन्। यसो भनेकोमा उनले तथानाम गाली सहनुपरेको छ। गिरीलाई राष्ट्रवादमा प्रश्न उठाउनेले आफ्नो सांसदलाई बुझाउन नसक्ने सरकार र कुटनैतिक एवम् जिम्मेवार पदाधिकारीले चतुरो र धूर्त इन्डियालाई कसरी बुझाउलान्  भनेर प्रश्न किन नउठाएका होलान् ? सरिता गिरीको अभिव्यक्तिले त सरकारले पूर्ण तयारी गरेको छैन भन्ने सन्देश दिएको छ। अब पूर्ण तयारीका लागि जिम्मेवारी पदाधिकारीलाई दवाव दिने कि सरिता गिरीलाई धम्क्याउने ? उनलेे सचेत गराएकोमा उनलाई धन्यवाद दिन नमिल्ने ?

ओखलढुंगा जिल्लाको तत्कालीन मुलखर्क गाविसको भुल्के भन्ने गाउँमा मेरो पूर्वबाल्यकाल बित्यो। उक्त गाउँमा ३०/३२ घर गौतमहरू थिए। मलाई संसारै गौतमहरूले भरिएको हो जस्तो लाग्थ्यो। हाम्रो घरभन्दा माथि जङ्गल थियो। एकदिन उक्त जङ्गलको घाँसदाउरा गर्ने गोरेटो बाटो हुँदै पोकापन्तरा बोकेर एकहूल मानिसहरू झर्दैगरेको देखेँ। म डराएँ। आमाछेउ गएँ । सोधेँ-"आमा ती को हुन् । " आमाले माथि पारापाखो रहेको र ती त्यहाँका मगर भएको बताउनुभयो। त्यसपछि मैले थाह पाएँ कि पाखामा बस्ने मगरहरू पनि हुँदारहेछ्न्।  दशैँमा लुगा सिलाउने कल बोकेर एकजना ब्यक्ति आए। दलानमा बसेर लुगा सिलाए। आमा छेउमा गएर दु:ख नदिन सचेत गराइरहनुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो-" हामीले उनलाई माया गर्नुपर्छ। भान्जाभान्जी हुन् नि। पकाएर खान दिनुपर्छ। उनीहरूलाई छुनु हुँदैन।" मलाई  ती पनि गौतम नै हुन् भन्ने लाग्थ्यो । मावल गएँ। धमला भन्ने सुनेँ। जति घर डुलेँ ' धमला' सुनेँ। अनि लाग्यो - "संसारमा गौतम,मगर र धमला हुँदारहेछ्न्"। स्कुल जान थालेपछि अधिकारी, राई, भट्ट, तामाङ, घिसिङ थरहरू सुनेँ। अब अरू पनि मानिस रहेछन् भन्ने लाग्यो। हाम्रो परिवार झापा बसाइँ सर्‍यो। त्यहाँ म तीन कक्षामा भर्ना भएर पढ्न थालेँ । जम्मा २९ जना विद्यार्थी लगभग त्यति नै थरका थियौँ। मेरो ठूलो भ्रम त्यहाँबाट टुट्यो। छिमेकी प्रत्येक घर फरकफरक थरीका भए। गौतम मात्रैले संसार भरिएको मेरो सोचाइ धरापमा पर्‍यो। हामी जीवनमा कतिपटक भ्रम मै रमाइरहेका हुन्छौँ। 'म' भए राष्ट्रवाद जोगिने, मैले बोलेको भाषा मात्रै भाषा, मैले बोलेको कुरा मात्रै कुरा। त्यो सीमित घेरालाई परिस्थितिले वा  कुनै तरिकाले नतोडिउन्जेलसम्म हामी भ्रममा नै रहन्छौँ। त्यसैलाई सत्य मानेर रमाउछौँ। हुनत सबै अस्वीकार गरेर सबैमा गौतम देख्ने चाहना रोप्न पनि सकिएला तर मेरो साथी रूपनारायण राजवंशीले "म गौतम होइन" भनिरहँदा मैले उसलाई धोएर, पखालेर, निचोरेर, चिथोरेर,... ... ... कसरी गौतम बनाउने ? जब कि मैले गौतम सोचेका ती लुगा सिलाउने ब्यक्ति पनि गौतम होइन रहेछन् । अब म यी फरकफरक पहिचान बोकेका फरकफरक व्यक्तिहरूको अस्तित्वलाई कसरी अस्वीकार गर्नसक्छु ? के मैले अस्वीकार गर्दैमा तिनीहरू हुँदैन नै ? तिनीहरूको अस्तित्व स्वीकार गर्दा मेरो पहिचान गुम्ने र अस्वीकार गर्दा मेरो पहिचान बढ्ने हो ?


केही वर्ष पहिले हाम्रो छ जनाको समूह काठमाडौबाट रात्रिबस चढेर पूर्वतर्फ जाँदैगर्दा हामी चढेको गाडी खाना खाने समयमा कुरिनटार नजिकै रोकियो। हामी पसलमा छिर्‍यौँ। हामी चढेको गाडीका मानिस मात्रै भएकाले त्यहाँ खासै भीड थिएन। हल्का गोरो अनुहार गरेका भण्डारी, कट्टेल  र भट्टराईलाई त्यहाँका होटलवालाले सोधे-" हजुर के लिनुहुन्छ?" लगत्तै पछिल्लो लहरमा भएका हल्का कालोकालो अनुहारका साह थरका एक व्यक्तिलाई तिनै पसलेले भने-"बोलो क्या चाहिए ?" जब कि ती कालाकाला व्यक्ति कलेज संचालक र लेक्चर पनि हुन्। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनले नेपाली भाषामा विभिन्न प्रशिक्षण चलाएका छन् । ती होटल संचालकभन्दा राम्रोगरि नेपाली भाषाको ज्ञान राख्छन् । हो उनको मातृभाषा मैथिली हो। उनी घरमा मैथिली बोल्छन् । तर ती होटलवालाले कुन मनोविज्ञानका आधारमा सँगै आएका साथीसँग नेपालीमा बोल्दा एकजनासँग हिन्दीमा बोले ? सरिता गिरीले त आफ्नो भाषा हिन्दी बताइरहेकी छिन्। यो अवस्थामा सरिता गिरीलाई कारबाही गर्ने कि होटेलवालाको जस्तो मनोविज्ञान बोकेकालाई? यो झुक्किएर भएको घटना होइन। आफूलाई मात्र राष्ट्रवादी ठान्ने त्रुटिपूर्ण पहाडिया मनोविज्ञान हो जुन जरा गाडेर बसेको छ।  मैले सबैतिर गौतम  देखेजस्तै यो मनोविज्ञानले आफूलाई मात्रै राष्ट्रवादी देख्छ।

अर्को अनौठो मनोविज्ञान देख्न पाइन्छ । मेरा एकजना पहाडको फेदीमा घर भएका मित्रले भन्थे-" मलाई पूर्वपश्चिम राजमार्गबाट दक्षिण गयो कि नेपाल नै होइन जस्तो लाग्छ।"  धेरै पहिले कान्तिपुरमा एकजना मारवाडी समुदायका उद्योगीको लेख पढेको थिएँ। सबै अहिले याद भएन तर प्रसङ्ग सम्झिन्छु। कुनै रैथाने पहाडी समूहका उद्योगपतिले मन्त्रीसँग गुनासो गरे रे- " तपाईं इन्डिया भ्रमणमा उनीहरूलाई मात्रै लानुहुन्छ, नेपालीको संख्या कम भयो, थप्नुपर्छ ।"  ती लेख लेख्ने उद्योगीको प्रश्न थियो- " म नेपालमा जन्मे हुर्केँ, नेपाली नागरिक हुँं, देशको माया छ, व्यवसाय चलाएको छु र राज्यलाई कर तिरिरहेको छु, मेरो तर्फबाट गर्नुपर्ने कर्तव्य गरिरहेको छु, अझै  नेपाली हुन मैले के गर्नुपर्‍यो ?" यसको उत्तर ती मन्त्रीसँग नेपालीलाई नलगेको भन्ने मनोविज्ञान बोकेका उद्योगपतिजस्ता व्यक्तिले दिनुपर्ने हो कि होइन ?

बनारसमा काफ्ले थरका एक व्यक्ति भेटियो। उनी आसामका रहेछन् । हाम्रो गफ भयो । सबै सामान्य स्वरमा थिए। प्रसङ्गवस उनले आवाज अलि उँचो पार्दै मलाई स्पष्ट  शब्दमा भने- " म नेपाली होइन, नेपाली बोल्ने इन्डियन हुँ"। अब नेपालमा हिन्दी बोल्ने सरिता गिरीलाई गाली बेइज्जती किन ? उनले शिर उच्च पार्दै-" मेरो मातृभाषा हिन्दी हो। म नेपालकि बुहारी हुँ। मलाई नेपालको माया छ" भन्ने अवस्था सिर्जना गर्ने कसको दायित्व हो? के यस  विषयमा हरेक नागरिक सचेत हुनुपर्दैन ?  यस्तो रोगी मनोविज्ञान बोक्नेलाई कारबाही गर्ने कि नगर्ने ? अलिकति चेतना भएका नेपालीले चेत खुलाउने कि नखुलाउने ? जनता बिनाको भूगोल खोजेर कुन राष्ट्रवाद मौलाउँछ ?

देश भूगोलको सीमाले निर्माण गर्ला तर सीमा हुँदैमा राष्ट्र र राष्ट्रवाद मौलाउँदैन । राष्ट्र निर्माण भूगोलले मात्रै गर्दैन त्यहाँ त राष्ट्रिय भावनाको विकास पनि हुनुपर्छ । राष्ट्रिय भावना त्यो बेला विकास  हुन्छ, जब त्यो देशका मानिसले मेरो पनि यहाँ पहिचान छ भन्ने अनुभव गर्दछ। त्यो राष्ट्रिय भावना घृणा र द्वेषले आउने कुरा होइन । त्यसोभए राष्ट्रवादको भावना विकास गर्नुपर्ने बेलामा घृणाको खेती गर्नेहरूले कस्तो राष्ट्रवाद निम्त्याउन चाहन्छन्?

सामाजिक संजालमा बहस भइरहेका छन्। नेता, मन्त्री र बुद्धिजीवीहरूले राष्ट्रियताको विषयमा बहस गरिरहेको संचार माध्यममा देख्न सकिन्छ। कतिपय कुराहरू कम्तिमा मलाई तर्कसंगत लागेका छैनन् । भाषाका कुरा, राष्ट्रियताका कुरा जति बजारमा देखिन्छन्, ती नेपाल नदेखिकन बोलिएका छन्  , मैले भुल्के गाउँमा रहँदा सोचेजस्तै। यहाँ मिथिला नेपालको हो भन्नेहरू मिथिलावासीलाई राष्ट्रियताको सवालमा प्रश्न उठाएको पाइन्छ। यो मनोविज्ञान फाल्न ढिलाइ भएन र?

 हामीले  विद्यालयमा पढेको इतिहासमा पृथ्वीनारायण शाहभन्दा पहिलेको समयमा पनि  मिथिलाको सम्बन्ध काठमाडौसँग थियो। प्राचीन नेपाल अहिलेको क्षेत्रभन्दा ठूलो थियोे भनिन्छ। आधुनिक नेपालको निर्माणपछि सुगौली सन्धिसम्म आइपुग्दा नेपालको सीमाना पश्चिममा उत्तराखण्ड क्षेत्र(कुमाउ, गढवाल, नैनीताल आदि क्षेत्र), दक्षिणमा विहारको केही भाग र पूर्वमा बङ्गालका भाग (दार्जिलिङ आदि टिस्टा नदीसम्म) फैलिएको पाइन्छ। हाम्रो पहाडी मनोविज्ञानले दार्जिलिङका जनतालाई र विहारवासी मैथिली, भोजपुरी र अवधिभाषी जनतालाई  फरक तुलोमा राखेर हेर्छ। जबकि विहारका ती जनता पनि कुनैबेला नेपाली थिए। सुगौली सन्धिले गर्दा उनीहरूको मूलभूमि नेपालबाट दार्जिलिङ जस्तै उनीहरूलाई पनि छुट्याएको हो। यो बुझेर स्वीकार गर्न किन गाह्रो । अहिले पनि त्यहाँका जनताको नेपालप्रति आस्था छ। ग्रेटर नेपालमा गर्व गर्नसक्नेले त्यहाँका  जनताको सम्मान गर्ने नगर्ने ?

नेपाल र भारत बीचमा रोटीबेटीको सम्बन्धको चर्चा गरिन्छ। खासमा नेपाल र इन्डिया बीच रोटीबेटी सम्बन्ध भए भारतका दक्षिणी प्रान्तसँग पनि हुनुपर्ने, त्यो छैन। पूर्वी पहाडका जनताको दार्जिलिङ आदि क्षेत्रमा, तराईमधेसको विहारका क्षेत्रमा र पश्चिमी क्षेत्रको उत्तराखण्डका क्षेत्रमा मात्रै बिहावारी चल्छ। जबकि अहिले इन्डियन बनेका ती क्षेत्रका जनता कुनैबेला नेपाली नै थिए। यो सम्बन्ध नेपाल र भारतको भन्दापनी  नेपाली जाति बीचको सम्बन्ध हो । दार्जिलिङलाई हेर्ने आँखाले विहारलाई पनि देख्न सक्नुपर्छ। नेपाल बहुजातीय मुलुक हो। आफ्नो जातिले आफ्नै जातिसँग सम्बन्ध गास्न खोज्नु सामान्य मानवीय संस्कार र चलन हो। नेपाली पहाडी जाति र त्योसँग रहनसहन मिल्ने दार्जिलिङ लगायतका जनताको सम्बन्ध कायम रहोस् । त्यसरी नै नेपाली मिथिला जाति र त्योसँग रहनसहन मिल्ने विहार आदि क्षेत्रका जनतासँग सम्बन्ध कायम रहोस् । हेर्ने दुइटा आँखा नबनून् । एक अर्काप्रतिको सम्मानको विकास आवश्यक छ। सबैको पहिचान स्वीकार गर्न सकेमात्र राष्ट्रियता र राष्ट्रवादको विकास हुन्छ। सरिता गिरीले एक टेलिभिजन अन्तर्वार्तामा भनेजस्तै सीमा प्राविधिक विषय हो। यो कुटनैतिक तवरबाट सुल्झाउन सकिन्छ, सुल्झाउनुपर्छ।  कुटनीतिमा लम्पसारवाद अनि प्रोपोगन्डामा राष्ट्रवादले समस्या सुल्झाउने होइन बल्झाउने मात्रै काम गर्छ। सीमाप्रति सचेत हुनुपर्छ तर सीमा नै राष्ट्रवाद र राष्ट्रियता होइन, राष्ट्रियताको एउटा विषय भने सीमा हो।


अब भाषातर्फ केन्द्रित बनौँ। भाषा बुझ्नका लागि हो। प्रभावकारी संचारका लागि हो । नेपालमा १२५ भन्दा ज्यादा जाति भएको र त्यही अनुसार भाषा भएको चर्चा छ।  लगभग सबै नेपालीले बुझ्ने र व्यक्त गर्नसक्ने भाषा नेपाली नै हो। संसदमा नेपाली भाषामै आफ्ना विचार अभिव्यक्त गर्दा प्रभावकारी हुने हो। यसो भनिरहँदा अन्य भाषालाई निशेध गर्नु आवश्यक छैन। सबै भाषाले उचित सम्मान पाउनुपर्छ । कसैले आफ्नो मातृभाषाप्रति प्रेम देखाएर उक्त भाषामा अभिव्यक्ति दिन्छ भने किन अनुचित ठान्ने ? बरू आवश्यक परे सम्बन्धित निकायले दोभासेको व्यवस्था गरिदिनुपर्छ ।

संचार माध्यम, फिल्म र कलाका माध्यमबाट हिन्दी भाषाले नेपालमा मात्रै नभएर संसारभर आफ्नो प्रभाव फैलाउँदै छ। सरिता गिरीले हिन्दीमा बोलिन् भनेर चम्कनेहरूले आफ्नै घरमा बोली फुट्दै गरेको बच्चाले " मै मोटु हुँ" भनेर हिन्दी बोल्न थालेको रोक्नसक्ने बहादुरी देखाए राम्रो हुन्छ। आफूले नेपाली भाषा बोल्दा र लेख्ता शुद्धताको प्रयास गरे राम्रो हुन्छ। मुखले हिन्दीको विरोध गरेर नेपालीको जगेर्ना हुने होइन । व्यवहारमा नेपाली भाषाको रचनात्मक प्रयोग गरिनुपर्छ जसले सबैलाई नेपाली सिक्न र बोल्न जागरूक तुल्याओस्। नेपालमा हिन्दी नगन्य मानिसको मातृभाषा भएपनि धेरैले बुझ्ने भाषा हो। हिन्दी मात्रै होइन नेपालमा भएका हरेक भाषा सम्बन्धित ब्यक्तिले बोल्ने स्वतन्त्रता पाउनुपर्छ। प्रत्येक भाषाले संरक्षण र सम्मान पाउनुपर्छ । नेपालमा बोलिने प्रत्येक भाषा नेपालका सम्पत्ति हुन्। त्यसैले हिन्दीभाषाको प्रयोग भयो भनेर आत्तिनु आवश्यक छैन। अन्य भाषाको विकासले नेपाली भाषाको प्रेममा र प्रयोगमा कमि हुनेछैन। यो सबै नेपालीको भाषा हो।

हिन्दीको विरोध नगरौँ। बरु नेपालमा नेपाली पछि धेरैले मातृभाषाको रूपमा प्रयोग गर्न मैथिली भाषाले राज्यका निकायमा किन स्थान पाएन ? त्यसको खोजी गरौँ । मैथिलीभाषा, साहित्य र कलाको विकास गर्नसके नेपालकै श्रीवृद्धि हुने हो। यसलाई पनि सदनमा बोल्न प्रश्रय दिऊँ। यसलाई समग्र प्रदेश दुईको सरकारी कामकाजको भाषा बनाउनुपर्छ। अन्य प्रदेशमा पनि मैथिलीको प्रभाव छ। भोजपुरी, थारू, मगर, तामाङ, नेवारी, राई, लिम्बू, अवधी , राजवंशी आदि भाषाहरूको जुन गाउँपालिका वा नगरपालिकामा लागु गर्न सम्भावना हुन्छ उक्त स्थानीय निकायले कामकाजको भाषाको रूपमा प्रयोग  र शिक्षा दिक्षाको व्यवस्था मिलाउनुपर्छ । भाषालाई विवादमा होइन प्रयोगमा ल्याऔँ। यसो गरेमा नेपाली राष्ट्रियता झनै बलियो हुनेछ। नेपाली  भाषाको गरिमा घट्तैन, बढेर जानेछ।

नेपालमा एकल राष्ट्रवादको मनोविज्ञान जरैदेखि उखेलेर फ्याक्नु आवश्यक देखिन्छ। ग्रेटर नेपालमा गर्व गर्व गर्ने सबै नेपालीले ग्रेटर नेपाल भित्रका सबैलाई नेपाली मूलको ठान्नु आवश्यक छ। राष्ट्रवाद एकअर्काको सम्मानमा पाइन्छ । कसैले आफ्नो भाषा बोल्दा राष्ट्रवाद सकिने होइन, अझ बढ्छ। भाषा विवाद आवश्यक छैन । सरिता गिरीले नेपाल सरकारलाई "पूर्ण तयारी गर्नू " भनेर सचेत तुल्याएकी हुन् । उनको नेपालप्रतिको मायामा शंका नगरौँ। आफ्नो माइतीगाउँ को जबरजस्ती बिरोध गर्नैपर्छ भनेर पछि नलागौँ। आफू जन्मेको ठाउँको माया लाग्नु सामान्य कुरा हो। इन्डियाको विरोध गर्नेमात्रै राष्ट्रवादी हुने भ्रम त्याग्नैपर्छ। उनले स्पष्ट शब्दमा बोलेकी छिन्, " म नेपाली हुँ" भनेर । उनी नेपालप्रति गद्दार इन्डियाप्रति बफादार त पक्कै हुन्नन् , उनी हिन्दू संस्कारमा हुर्केकी चेली हुन् । माइती र ससुराल(घर)को सम्बन्ध उनलाई राम्रोसँग थाहा छ। माइतीसँग  प्यार त हुन्छ तर महत्त्व घरबारले नै पाउँछ। नबुझेर रोइकराइ गरिन् भने बुझाउन सक्नुपर्‍यो । तथानाम गाली गरेर हुँदैन । व्यवहार मा नै हेरौँ। तथानाम गाली गर्ने, मट्टीतेल खन्याएर जलाउने प्रयास गर्ने त्यो बेला मात्रै गरिन्छ जब दाइजो कम हुन्छ, अनि उनलाई माइती नै फर्काउने चाह हुन्छ। हामी कीन त्यस्तो अन्धविश्वासमा लाग्ने। घर गरेर बुढेसकाल लागेपछि माइती तिर लागि भन्ने ? फर्केर माइती जाँदा अब विवाहभन्दा पहिलेजस्तो माइती आफ्नो हुँदैन भन्ने कसलाई थाह नहोला र ? नेपालको मन्त्रीपद  सम्हालेको व्यक्तित्वले बोल्नुपर्ने र फर्नुपर्ने व्यवहार देखाउन नसकेकी हुन् भने उनलाई सभ्य तरिका सम्झाऔँ न। उनलाई अपशब्द प्रयोग गरेर घर झगडा किन बढाउने ? घर झगडाले कसलाई फाइदा गर्ला ?

राष्ट्रवाद बलियो बनाउन सबैको पहिचान स्विकार्दै जानुपर्छ । बोल्ने गरेको भाषाको विरोध गर्नुहुँदैन , मातृभाषा बोल्न प्रोत्साहन गर्नुपर्छ। मान्छे दोषी हुँदैन मानिसले गरेका कामहरू कहिलेकाही दोषपूर्ण हुनसक्छन्। त्यस्ता काम नगर्न भद्रतापूर्वक सचेत गर्नुपर्छ। एउटा ब्यक्तिको कुनै दोषलाई लिएर सिङ्गो समाजमाथि आक्रमण गर्नुहुँदैन । महत्त्वपूर्ण कुरा, राष्ट्रवादको घेरा साँघुरो राख्नुहुँदिन। राष्ट्रवादको संकीर्ण घेरामा रमाउनेहरू त्यो घेरा तोडेर बाही!निस्कन जरुरी छ। संसारमा सबै गौतम मात्रै हुँदैनन् ।


Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...