Skip to main content

चौरजहारी घटना: जातीय संहारको प्रश्न र अन्य पक्ष

            चौरजहारी घटना:  जातीय संहारको प्रश्न र अन्य पक्ष
विमल गौतम
gautambro@gmail.com

रुकुम पश्चिममा कुटपिट गरी छ जना युवा मारिएको खबरले देश स्तब्ध बन्यो। जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया कक्षा १० मा पढ्ने  सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका थिए । भविष्यमा देश निर्माणका विधाता बन्नसक्ने सम्भावना बोकेका युवाहरू नवराज विक, गणेश बुढामगर र  टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको शव भेरी नदीमा भेटिएको थियो। प्रहरीले चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता गरिसकेको छ।

'जातीय संहार'को नाम दिएर सदन, सडक र संचारमाध्यममा यसको चर्चा भयो। महान्यायाधिवक्ता अग्नि खरेलले यो घटना प्रचारमा आएजस्तो होइन भनेर अभिव्यक्ति दिए । यो घटना अमानवीय आपराधिक घटना हो। यसमा जातीय विभेदले पनि समस्या निम्त्याएको देखिन्छ। जातीय विभेद मानव समुदायको लागि कलङ्क हो। यसको अन्त्य हुनुपर्छ । तर के यो प्रचारमा आए जस्तै 'जातीय संहार' नै हो त ? के यसमा अन्य सामाजिक राजनीतिक पक्ष छैनन् ? राजनीतिक रङ घोलेर  मात्रै यो घटनाको न्याय निरुपण  हुन्छ कि घटनाको आपराधिक अनुसन्धान गरेर ? यो घटनामा जातीय कारण मात्रै हो कि यसका अन्य तत्व पनि छन् ? के यो घटनालाई एक दृष्टिले मात्रै हेरिनु उपयुक्त हो कि यसका विविध पक्ष केलाइनुपर्छ?

"जात व्यवस्था विरुद्ध लड्नुपर्ने", "जातीय संरचनामा हान्नुपर्ने" जस्ता शब्द प्रयोग गरेर विद्वानहरूले लेख लेखेका छन् । कसरी लड्ने वा हान्ने ? यो प्रश्नको उत्तर भने दिएको पाइएको छैन। जातीय विभेदको समाधान कसरी हुन्छ त ? घटना हुनासाथ यसलाई 'जातीय संहार'को नाम्ब दिएर समाचार प्रकाशन प्रशारण भए। 'जातीय संहार' भनेर समाचारमा आएपछि एकजना भन्नुभयो-" यिनीहरूले मिसिनरीको शब्द टिपे। मिसिनरी पस्यो।" संरचनामा हान्ने र ठोक्ने कुरा गर्ने तर समाधान नदिने गर्नुका पछाडि अन्त्यमा 'मिसिनरी'कै शरणमा जाऊन् भन्ने इच्छा त होइन ?

पहिलो विचारणीय प्रश्न,  यो जातीय संहार हो त ? मेरो बुझाइको सीधा उत्तर छ, होइन। यहाँ नवराजलाई साथ दिने युवाहरू कुनै निश्चित जातिका थिएनन्। घाइते र मृत्युहुने पनि जातीय हिसाबमा एकै वर्गका होइनन् । अर्को यो घटनामा पूर्णतया जातीय कारण मात्रै थिएन त्यसैले यो जातीय संहार हुँदैहोइन। जातीय  हिसाबले र जातीय द्वेष मात्रै बोकेर छानीछानी मारिएको नभएकाले जातीय संहार हुने प्रश्न नै उठ्दैन। यो गलत शब्दचयन हो। यति भनिरहँदा बिर्सन नहुने कुरा के हो भने:
१. यो नरसंहार मानव सभ्याता विरोधी गम्भीर अपराध हो।
२. यसमा जातीय विभेदको कारण पनि एक हो।
३. विवाह 'दुई व्यक्तिको करार हो' र 'पारिवारिक,सामाजिक उत्सव हो' भन्ने दुई पक्ष बीचको विवाद अर्को कारण हो।
४. शक्तिको आडमा अविवेकपूर्ण कार्य गर्ने गैरजिम्मेवार पदाधिकारी र निकाय तेस्रो कारण हो।

अब १ नम्बर बुँदाबाट सुरु गरौँ। छ जना युवाको हत्या भएको  छ। ठूलो कारण छैन। आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न एक युवा युवतीलाई भेट्न गएका छन्। ती युवाले साथी लिएर गएपनि न आक्रमण गरेको, न कुनै अभद्र्ता देखाएको बुझिन्छ। प्रेम र विवाह गृहस्थ जीवनका सर्वमान्य र अपरिहार्य विषय हुन्। सर्वस्वीकार्य विषयकालागि मृत्युदण्ड किन ? बाटो छेकिएको छ। नवराजहरू हिँडेको खबर वडाका अध्यक्षले पाएका छन् । यी सबै हेर्दा फौजदारी संहिता को बाह्रौँ परिच्छेद ज्यान सम्बन्धि कसूर अन्तर्गतको काम भएको छ। नियतबस मारिएको छ। अन्यत्र भाग्ने ठाउँ छेकी खोलामा  चेपुवा पारेर मारिएको छ। यो सामाजिक राजनीतिक, नैतिक, धार्मिक,मानवीय, कानूनी आदि सम्पूर्ण पक्षबाट गम्भीर अपराध हो। कानून अनुसार दोषीलाई सजायको व्यवस्था हुनुपर्छ ।

दोस्रो बुँदामा उल्लेख भएजस्तै यो घटनामा जातीय विभेद मिसिएको छ। बुझ्नुपर्ने कुरा के भने यो जातीय भावना हत्याका लागि होइन कि विवाह रोक्नका लागि भएको देखिन्छ। यसको आडमा आपराधिक मनोवृत्तिले घुसपैठ पायो र हत्यासम्म डोर्‍याउने काम गर्‍यो। हाम्रो सामाजिक विभेद छ। यो स्वीकार गर्नैपर्ने विषय हो। प्रेम गरेको आरोपमा नवराज एकरात प्रहरी फन्दामा बसिसकेका पनि रहेछन्। यो सबै परिस्थिति विचार गर्दा जातीय विभेद  घुसेको छ तर हत्याको कारण यो मात्रै होइन।

तेस्रो बुँदामा ध्यान दिऔँ । सामान्यतया  विवाह उमेर पुगेका जोडीको व्यक्तिगत अधिकारको विषय हो। कानूनी हिसाबमा हेर्ने हो भने यो दुई व्यक्ति बीचमा हुने एउटा करार हो। करार अनुसार चलेसम्म सँगै बस्ने र कुनै पक्षले करार अनुसार कार्य नगरे पालन गर्न लगाउने वा करार भङ्ग गरेर स्वतन्त्र रहने अधिकार सम्बन्धित दुई व्यक्तिका व्यक्तिगत क्षेत्राधिकारका विषय हुन्। यसमा बाह्य हस्तक्षेप आवश्यक छैन। पछिल्लो समयमा युवाहरूमा केही मात्रामा यो सोच विकास हुँदै गएको छ र यो सत्य पनि हो। तर समाजले यो कुरा स्वीकार गर्दैन । नेपाली समाजमा विवाह दुई व्यक्तिको स्वतन्त्र करार मात्रै होइन। यसमा दुई परिवार र सिङ्गो समाजले पनि आफ्नो स्थान खोज्छन् । विवाह संस्कार, मर्यादा, प्रतिष्ठा र इज्जतसँग जोडिएको पाइन्छ। आआफ्नो स्तर अनुकूलका कुरा आउँछन्। यसमा जातीय कुरा मात्रै होइन, नैतिक सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक लगायत अन्य व्यवहारिक पक्ष पनि जोडिएको पाइन्छ। उम्दा युवाहरू समाजको विवाह सम्बन्धिको यस्तो गम्भीर मनोविज्ञान बुझ्दैनन्। जति सजिलो देखिन्छ विवाह त्यति सजिलो विषय होइन। जब परिवार र समाजले आफ्नो स्थान भेट्टाउँदैन त्यस्तो सम्बन्धलाई अस्वीकार गर्ने प्रयास गर्छ, त्यसलाई रोक्न अनेक उपाय गर्छ। अझ छोरीको सवालमा समाज झन् सचेत बन्छ, किनकि छोरीको( सामाजिक मान्यता अनुसार अबला) जीवनभरको सुरक्षाको सवाललाई विवाहसँग जोडिएको पाइन्छ। यही सोछ गलत दिशामा भड्किएकोले पनि हत्या जस्तो जघन्य र अक्ष्यम्य घटना हुन पुगेको छ। जबसम्म विवाह दुई पक्षको करारको रूपमा हेरिदैन र छोरीले आफ्नो जीवनको सुरक्षा आफैँ गर्न सक्छिन् भन्ने मान्यता र व्यवहारको विकास हुँदैन तबसम्म जुनसुकै जात भएपनि परिवार संलग्न नहुने प्रेममा अवरोध आइरहन्छ। हत्या यदाकदा होलान् तर कुटपिट र घाइतेका यस्ता उदाहरण हाम्रो समाजमा प्रशस्त देख्न पाइन्छ।

एकपटक मेरो एकजना भाइ पर्ने साँझ पाँचबजे घरबाट निस्कियो। ऊ आफ्नो तामाङ जातिको केटालाई साथ दिन ७/८ जनाको समूह बनाएर तामाङ जातिकै केटी लिन गयो। केटीको घर पुग्नलाग्दा घरकाले थाह पाएछ्न् र गाउँले गुहारेर लठ्ठी आदि हतियार सहित खेदाए। केही घाइते भए। प्रहरीले पनि खेदाउन साथ दियो। जङ्गल, खोला भाग्दै लुक्दै वातावरण शान्त भएपछि रातिको २ बजे घर आइपुगेको थियो। भोलिपल्ट प्रहरीमा हाजिरी बुझाउन जानुपर्‍यो। मेरो भोगाइमा यस्ता अन्य उदाहरण पनि छन् । हत्यासम्म नपुगेका होलान् तर हाम्रो समाजमा यस्तो धेरैले भोग्नुपरेको छ। प्रहरीले उल्टै पीडित पकड्यो भनिन्छ तर प्रहरी पनि बाध्यतामा हुन्छ।

अब चौथो बुँदामा जाऔँ। कतिपय जनप्रतिनिधिले " भुइँमा न भाँडामा कुकुर टाँडमा भन्ने उखान" चरितार्थ गरेका छन् । समाजमा आफ्नो मतियारको मात्रै पक्षपोषण गर्ने, आफ्नो वडा वा क्षेत्रमा आफ्नो नीति विपरीत जथाभावी गर्ने, सार्वजनिक एवम् प्राकृतिक स्रोतसाधनको दुरुपयोग गर्ने, चित्त नबुझाउने पक्षलाई साम, दाम, दण्ड, भेद प्रयोग गरेर नियन्त्रणमा राख्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूमा कतिपय स्थानीय जनप्रतिनिधि पोख्त छन् । नियमभन्दा पनि आफ्नो मनोमानीलाई प्राथमिकतामा राख्छन् । नाबालिकालाई जसले बलात्कार गर्‍यौ उसैको जिम्मा लगाएर पठाउनु, युवाहरूलाई गाउँले भेला पारेर कुटेर मार्नु यी सबै नियम र सिद्धान्तभन्दा पर रहेर नेपालमा जरा गाडेको  डनवादी राजनीतिको उपज हुन् । ती छ जना युवाको हत्याको दोष यो अविवेकी राजनीतिलाई पनि लाग्छ। चौरजहारी हत्याकाण्डको चर्चा यी विविध आयामलाई नगरी, यस्ता विषयलाई सम्बोधन नगरी अपूर्ण हुन्छ।

अब फेरि जातीय विभेदकै विषयमा फर्कौँ।  कतिपयले विभेदको कारणलाई धर्ममा लगेर निरन्तर हिन्दु धर्ममाथी आक्रमण गरिएको पाइन्छ। हिन्दु धर्मपालन गर्ने क्षेत्रभन्दा बाहिर पनि विभेद प्रशस्त देखिन्छ । यो हिन्दु धर्मको मात्रै दोष होइन मानव सभ्यताकै दोष हो। म धर्मको ज्ञाता त होइन तर एक पण्डितले मलाई सम्झाएको कुरा यहाँ राख्न चाहन्छु। शिर वा  टाउको (मस्तिष्क प्रणाली)ब्राह्मण, छाती/ भुजा (सुरक्षा प्रणाली) क्षेत्रीय, पेट (पाचन, संचार प्रणाली ) वैश्य र खुट्टा ( माथिका सम्पूर्ण प्रणालीको भार वहन गर्ने) शुद्र गरेर गरिएको विभाजन भिन्नभिन्न जातीय विभाजन नभई एकै शरीरका कार्यगत विभाजन हुन् । पछि यसलाई निश्चित वर्गको स्वार्थ पूरा गर्न दुरुपयोग गरियो।

जातीय विभेद अमानवीय र कानूनी दण्डनीय विषय हो भनेर नसुनेका र नबुझेका मान्छे विरलै भेटिएलान्। यो अवस्थामा पनि विभेदका घटनाहरू किन भइरहेका छन् ? किन हाम्रो समाजमा विभेदका घटना समाप्त  भएका छैनन् ?  उत्तर हो लामो समयसम्म चलेको विभेदको मनोविज्ञानले जरा गाडेर बस्नु। विभेद अन्त्य गर्न विभेदको मनोविज्ञान उखेलेर फ्याल्नुपर्छ। त्यसका लागि हिन्दूधर्मका धर्मगुरुले यसको अगुवाई लिनुपर्छ । अनि मात्रै जातीय विभेद अन्त्य हुने देखिन्छ। हिन्दू धर्मको संरक्षण गर्ने हो भने पनि जातीय विभेद  विरुद्धको घोषित आन्दोलन हिन्दू  धर्मका पुरोहित  पण्डितहरूबाट सुरु गरिनु आवश्यक छ। हिन्दू धर्म र परम्परामा हुने आक्रमण रोक्न विभिन्न कालखण्डमा भएका अपब्याख्याहरूलाई पुनर्ब्याख्या गरेर मानव सभ्यता अनुकूल बनाउनुपर्छ । धर्मका पण्डितहरूसम्म यो कुरा पुगोस् । धर्म मानवीय कल्याणका लागि हो, शोषण र विभेदका लागि होइन।

कतिपय धर्म परिवर्तनमा समाधान देखेको पाइन्छ । तर यो आफ्नी आमाले गाली गरिन् भनेर सौतेनी आमा भित्र्याउन खोज्नुजस्तै हो। एक घटनामा लिम्बू केटा र परियार थरकी केटीको प्रेम विवाह भयो। दुवै क्रिस्चियन धर्मका अनुयायी । स्वीकार गरेपनी केटाका परिवारले फलानो जातकी केटी ल्यायो भनेर आफन्तसँग गुनासो गरे । पछि सोही धर्ममान्ने  एक युवा शिक्षित साथीले मसँग भने- " अरू केटी पनि थिए । त्यही जातसँग बिहे  नगरेको भएपनी हुन्थ्यो।" कसैलाई चोट पुगे माफी चाहन्छु। यहाँ मैले धर्मलाई दोष दिएको होइन, हामीमा गढेको मनोविज्ञानको उजागर मात्रै गरेको हुँ। यो घटनाबाट मैले बुझेको "धर्म परिवर्तन गरेपनि धारणा परिवर्तन नगरेसम्म विभेदको अन्त्य हुँदैन ।" त्यसैले अब हिन्दू धर्मका प्रवक्ताहरूले नै विभेदको मनोविज्ञान हटाउने अभियान थाल्नुपर्छ। यसो गरिए मात्रै हिन्दू धर्मको गरिमा पनि बढ्छ।

चौरजहारी घटनामा कानून अनुसार युवतीको विवाहको उमेर नपुगेको संचारमाध्यमले जनाएका छन्। यदि नवराज युवतीलाई लिएर आएको भएपनि उनको विवाहले वैधानिकता पाउँदैनथियो। अहिले उमेर नपुगेका केटाकेटी आफूखुसी बिहे गर्ने चलन बढेको छ। केटाकेटीको अपरिपक्व  व्यवहारलाई नियन्त्रण र नियमन गर्न पनि ध्यान दिनुपर्ने देखिन्छ । किशोरकिशोरीहरूलाई उचित परामर्श आवश्यक छ। यो घटनाको एउटा कारण युवा जोशलाई उचित व्यवहारको विकास गर्न नसक्नु पनि हो।

घटना घटेपछि पनि उक्त घटनाको छानबिनमा अनावश्यक हस्तक्षेप अर्को समस्या हो। 'निर्मला पन्त बलात्कार काण्ड'मा  पनि अनावश्यक राजनीतिकरणले गर्दा प्रहरीले स्वतन्त्रतापूर्वक काम गर्न पाएन । पक्रिएका शंकास्पद व्यक्ति छुटाउन पर्‍यो। समाजले बम दिदीबहिनीको हुर्मत लियो। अन्तिममा हातलाग्यो शून्य भएको छ। यो घटनामा पनि अपराधको छानबिन छोडेर राजनीति सुरु भएमा यस्तै हुनसक्छ । यसतर्फ सबैको ध्यानाकर्षण आवश्यक छ। नवराजकि प्रेमिकाको हुर्मत लिने काम गरिँदै छ, यो बुझेर उनको संरक्षण कस्ले गर्ने ? उनलाई जिउँदैमा किन पटकपटक मारिदै छ ? सम्बन्धित पक्षको ध्यान जाओस् ।

अन्त्यमा यो नरसंहार जातीय संहार भनिहाल्न उपयुुक्त नभए पनि यो घट्नुमा जातीय विभेद भने एक प्रमुख कारण हो। यसलाई स्वीकार गर्नुपर्छ। जातीय विभेद अन्त्यका लागि ब्राह्मण समाजले नै तुरुन्तै पहल थाल्नुपर्छ। यसो गरिएमात्र धर्म र संस्कृतिको रक्षा हुन्छ। यो बुझ्न पण्डित, पुरोहित र धर्मका प्रवक्ताहरूले ढिलो नगरून्।  उक्त कहालीलाग्दो हत्याकाण्डका अन्य कारणहरूबारे पनि सम्बन्धित निकायले ध्यान पुर्‍याओस्। गुण्डानाइकेलाई जनप्रतिनिधि बन्न दिने र दिलाउने पक्षको ध्यान पुगोस्। किशोरकिशोरीलाई कसरी वैचारिक खुराक पुर्‍याउने भन्ने विषयमा पनि सोचियोस्। अपराधीलाई कडाभन्दा कडा कारबाही होओस्। यो घटनाका विविध आयामको मनन् गर्दै आगामी दिनमा यस्ता घटना नघटून् भनेर सबैपक्ष सजग हुन आवश्यक छ।


Comments

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...