कोरोना
ब्याचका प्यारा विद्यार्थी भाइबहिनीहरू
कुशल छु,
कुशलतको कामना गर्दछु
एकबेला मैले पढाउने गरेको विद्यालयको एक विद्यार्थीलाई कुनै एक विषयमा एसएलसीमा (एसईई) ५० भन्दा ज्यादा अङ्क आउँदैन भनेको थिएँ । पछि परीक्षा दिइन् र नतिजा आयो, उनले ९० अङ्क प्राप्त गरिछिन् र अझ समग्रमा उनको अङ्क कक्षामा जान्ने भनिएका विद्यार्थीहरूभन्दा निकै धेरै थियो । यस्ता उदाहरण प्रत्येक वर्ष बन्छन् । परीक्षाकेन्द्र परेको विद्यालयले अन्य विद्यालयलाई विद्यार्थी पास गराउन निश्चित पैसा माग्नेकुरा नौलो होइन । आर्थिक रूपमा सक्षम विद्यालयले राम्रै खर्च गरेर परीक्षाकेन्द्र र केन्द्राध्यक्ष किन्ने गरेको गोप्य कुरा सबैलाई थाह भएकै हो । चिट चोराउनेको लर्को क्यामेराले कैद गरेकै हो । चिट चोराउन कुद्ने एउटा शिक्षक म आफैँ पनि थिए । पछि आफूलाई ठीक नलागेर म परीक्षाकेन्द्र नै जान छोडेको थिएँ । म आफैँ एसएलसीमा सहभागी हुँदा पनि छिमेकी विद्यालयले आफ्ना विद्यार्थीलाई सहयोग गर्न आफ्नै विद्यालयका गणित र विज्ञान पढाउने शिक्षक घुसाएको थियो । मलाई त पहिलेका ती लथालिङ्ग परीक्षाभन्दा कोरोना ब्याच निकै उत्कृष्ट लाग्छ । विद्यार्थीहरूको आफ्नो क्षमताअनुसार नै सही मुल्याङ्कन भएको छ । अगाडि आउनुपर्ने पछाडि र पछाडि आउनुपर्ने अगाडि भएको छैन । कमजोरी नभएका हुन् भनेको होइन तर पूर्ण गलत छ भन्ने लाग्दैन । अब कक्षा १० को परीक्षा धुमधाम मनाउनुभन्दा यसलाई सामान्य बनाउनु आवश्यक देखिन्छ । विद्यार्थीले अङ्क ल्याए भनेर रोइकराइ गर्नु खासै उचित लागेन । परीक्षाको समयमा पैसा उठाएर खान पल्केकाहरूको कोकोहोलो हो भने भन्नु केही छैन ।
बच्चालाई
खाना खुवाउन धेरै कर गर्नुपर्छ । खाना पस्केर केसँग खाने भनेर सोध्यो, दालसँग भन्छ
रे ।दालभात हालेर ठिक्क पार्नुपर्छ तब बच्चाले घ्यूको माग गर्छ । घिउ हालिदिएपछि
चिनी हाल्न लगाउँछ । सबै पस्किदिइसकेपछि मुछ्न लगाउँछ । मुछिदिए मात्रै खाने कुरा
गर्छ । अभिभावकले मुछिदिनुपर्छ । अब फेरि बच्चा चिच्याउँछ, “घिउ चिनी हालेर माम किन
मुछेको ? अब म खान्न के । मै मुछेर खान्छु भनेको । अब पहिलेको जस्तै पारिदिनू ।“ ठ्याक्कै यस्तै अर्घेल्याइँ
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रकाशित कतिपय समाचार र क्रिया प्रतिक्रियामा देख्न पाइएको
छ । बच्चाहरूको हठ त स्वाभाविक नै हो तर यी विकसित बच्चाको हठ, त्यो पनि
बौद्धिकहरूको स्वाँठे प्रतिक्रियाको कुनै अर्थ छैन । यी सबै देखेर आफू ‘कोरोना ब्याच' भएँ
भनेर दुखेसो नगर्न म भाइबहिनीहरूलाई अनुरोध गर्दछु ।
म शिक्षाविज्ञ होइन
पनि । मात्रै आफ्नो अनुभव भाइबहिनीहरूसँग
बाँड्न मन लागेकोले लेख्दै छु । अहिले शिक्षा सम्बन्धि विभिन्न क्रियाप्रतिक्रिया
आइरहेका छन् । विशेष एसईईसँग सम्बन्धित । भाइबहिनीहरू, पहिले तपाईँहरूले आफू ‘कोरोना
ब्याच' भएको स्वीकार गर्नुहोस् । स्वीकार गरिसकेपछि कसैले तपाईँलाई ‘कोरोना ब्याच’ भन्ला
भन्ने डर रहँदैन । आफैँ ‘कोरोना ब्याच' भएको भन्नुहोस् तपाईँलाई ‘कोरोना ब्याच'
भनेर उडाउन चाहने मानिस उल्टै डराउँछ। कोरोना आएकोले परीक्षा दिन नपाएको सत्य हो ।
तपाईँको रहरले परीक्षा नदिनुभएको होइन ।शब्दको इज्जत आफैँले बढाउने हो । शब्द आफैँ
केवल शब्द मात्रै हो ।दोस्रो कुरा तपाईँलाई कोरोनाले गर्दा धेरै अङ्क ल्याएको त हो
नि भन्नेहरू लहरै लागेर भनिरहेका छन् । तपाईँहरू उनीहरूका कुरा नपत्याउनुहोस् ।
पत्याउनुपर्ने कारण पनि छैन । तपाईँहरू तपाईँहरूको विद्यालय र त्यहाँका
शिक्षकहरूमाथि विश्वास गर्नुहुन्न ? उनिहरूको
क्षमतामा विश्वास गर्नुहुन्न? यदि विश्वास गर्नुहुन्छ भने ढुक्क रहनुहोस्
कि तपाईँ त्यति अङ्क पाउन योग्य भएकोले नै तपाईँले उक्त अङ्क प्राप्त गर्नुभएको हो
। तपाईँले पाएको कुरामा अर्काको टाउको दुखाइ रहन्छ भने त्यसले केही नाप्दैन । जसले
दुखाउँछ उसलाई उसको टाउको दुखाइरहन दिनुहोस् ।
कसैकसैले यही झोकमा नेपालको शिक्षा प्रणाली नै गलत भएको
तथा बाँदर र माछालाई एकै प्रकारको प्रतिस्पर्धा गराउनु नै गलत हो पनि भनिरहेका छन्
। यो पूर्ण सत्य कुरा होइन । यस्तो कुरा सुनेर “म त गल शिक्षा पो
लिइरहेको रहेछु” भन्ने लागेको पनि
हुनसक्छ । यस्तो काम नलाग्ने शिक्षा किन पो पढ्नु र भन्ने भावना पैदा भएको हुनसक्छ
। यसले पढाइमा हुने ध्यान भड्काइरहेको पनि हुनसक्छ । भाइबहिनिहरू, लामोसमयसम्म मलाई पनि
त्यस्तै लागेको थियो । गलत शिक्षा पढिरहेको छु भन्ने लाग्थ्यो ।पढ्न अल्छि
लाग्थ्यो ।धेरै पछि थाह पाएँ, म गलत सोचमा रहेछु ।
प्यारा
भाइबहिनीहरू, म कक्षा ७/८ मा पढ्दा क्रान्तिकारी
विद्यार्थी भनिनेहरू विद्यालय आउने गर्थे । उनीहरू यो शिक्षालाई गलत छ भन्थे ।
किताबका पानाहरू च्यात्न लगाउथे । यो शिक्षाले विकास नगर्ने भन्थे । आफ्नो सत्ता
आएपछि नयाँ शिक्षा प्रणाली ल्याउने कुरा गर्थे । मभन्दा धेरै पहिले पञ्चायत कालमा
पनि बुर्जुवा शिक्षा नपढ्नू भन्दै आउने गर्थे रे । कतिपयले उनीहरूकै कुरा सुनेर पढ्न
छोडे । पछि उनीहरूको सत्ता आएपछि हामीलाई गलत शिक्षा लिएको भन्नेहरूचाहिँ त्यही गलत भन्ने गरिएको शिक्षा लिएर राम्रो ओहदा
ओगट्न सफल भएका छन् । उनीहरूको कुरा सुनेर पढाइ बिगार्नेहरू सधैँ भुइँमान्छे ।
अहिलेका शिक्षामन्त्री पनि यही नयाँ शिक्षा ल्याउनुपर्छ भन्ने धारबाट नै राजनीति
गरेका व्यक्ति हुन् ।उनको नयाँ शिक्षा छताछुल्ल नै छ ।त्यसैले अहिले शिक्षामा जुन
प्रक्रिया छ त्यसलाई नै स्वीकार गरेर पढ्नुपर्छ । अरू कल्पना हुन् ।हामीलाई भड्काउन
गरिएका खेल हुन् । उनीहरूका कुरा सुनेर पछि लाग्न हुँदैन । हाम्रो यथार्थ अहिलेकै
शिक्षाप्रणाली हो। हामीले यसैमा अब्बल बन्ने प्रयास गर्नुपर्छ ।
यसको मतलब
मैले शिक्षामा नयाँपन हुँदैहुँदैन भन्न खोजेको होइन । शिक्षामा परिवर्त हुन्छ र
भइरहेको पनि छ तर त्यो जादू जसरी होइन । यही यथार्थमा रहेर हुन्छ । बुझ्नेले बुझेर
पढ्ने हो । घोक्नेले घोकेर नै पढ्ने हो अनि घोकेपछि बुझ्ने हो । पढ्न विद्यालय गएर
नै पढ्ने हो । विद्यालयमा शिक्षकहरू नै हुन्छन् । माछा र बाँदरहरूले पढ्ने होइनन्
, मानिसले पढ्ने हो। जे पढाएको छ, त्यसको परीक्षा लिने हो।यो स्वभाविक छ । यिनै
शिक्षाविद्को सल्लाहमा शिक्षा नीति र पाठ्यक्रम बनेको छ अनि यिनीहरूनै गलत शिक्षा
प्रणाली भनेर फुकिरहेका हुन्छन् । यो झेल बुझिनसक्नुको छ भाइबहिनीहरू । तपाईँहरूको
काम पढ्ने हो त्यसैले पढिरहनुहोस् । कसैको झेलमा नफस्नुहोस् ।
तपाईँले
कक्षा दशसम्म पढेका सबै विषय खररर आउनुपर्छ भन्ने छैन । कक्षा दशसम्म पढ्दा १) भाषामा
आफ्ना कुरा स्पष्ट राख्न सक्ने हुनुभयो भने, २) घर व्यवहारका लेनदेन हिसाबका कुराहरू
गर्नसक्ने हुनुभयो भने, 3) घर, व्यवहार,
समाज, देश, वातावरणका विषयमा सामान्य धारणा निर्माण गर्न सक्नुभयो भने र ४) आफूले
लिएको मुख्य(तपाईँले छानेको) विषयमा अब्बल बन्नुभयो भने तपाईँ एसईईको उत्कृष्ट
विद्यार्थी हो ।GPA
जति आए पनि केही फरक पर्दैन ।तपाईँहरूको
माध्यमिक शिक्षा कक्षा १२ पछि मात्रै पूरा हुन्छ ।यो पूरा गर्न अझै दुई वर्ष मेहनत
गर्न बाँकी नै छ ।एसईईको नतिजाले ज्यादा उत्साह वा निराश दुवै हुनु आवश्यक छैन ।मेहनतले
निरन्तरता पाउनुपर्छ ।जीवनका अनगिन्ति परीक्षामध्येको यो सामान्य परीक्षा हो। यसका
पछाडि सिङ्गो समाज र देश नै पछि लाग्नुपर्ने आवश्यक नै छैन ।
अर्को तथ्य
के भने यहाँ शिक्षा प्रणाली होइन कि शिक्षाको विषयमा मानिसमा रहेको सोचमा चाहिँ
व्यापक सुधारको आवश्यकता छ । विद्यालय गएर कथा कविता पढ्नु मात्रै शिक्षा हो भन्ने
साँघुरो सोचको अन्त्य आवश्यक छ । तपाईँलाई खाना राम्रोसँग पकाउनु, कोठा सफा गर्न
आउनु, घाँस काट्न जान्नु, व्यापार गर्न आउनु, हलो जोत्नु आदि सबै शिक्षाका नै विषय
हुन् ।शिक्षाको व्यापक अवधारणा बोक्नु आवश्यक छ। भाइबहिनीहरू, तपाईँहरू पनि
शिक्षाको व्यापकता बुझ्नुहोला । आफूलाई कुनै विषय नआएको कुरा लिएर चिन्तित नहुनुहोस्
। कक्षा १२ सम्मको विद्यालय शिक्षा पूरा गर्नुहोस् । त्यसपछि औपचारिक शिक्षा लिन मन
नभए नलिनुहओस् । आफ्नो इच्छाअनुसारका काम गर्नुहोस् । विदेश जानुहोस्, खेती
गर्नुहोस्, व्यापार गर्नुहोस्, सामाजि संस्थामा सहभागी बन्नुहोस्, विश्वविद्यालय
शिक्षा लिन चाहने लिनुहोस् । यसरी विभिन्न गतिविधिमा संलग्न हुनुहोस् । तपाईँ
आफ्नो जीवनको निर्णय गर्न स्वतन्त्र बन्नुहोस् । सबैले विश्वविद्यालय गएर पढ्नैपर्छ
भन्ने धारणा त्याग्नु आवश्यक छ ।
भाइबहिनीहरू,
कक्षा ११ बाट विषयगत विविधता रहेका छन् । कुन विषय पढ्ने भन्ने अन्यौल हुनसक्छ । म
त्यो बेलाको एसएलसी (कक्षा
१०) परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण भएको विद्यार्थी हुँ । त्यो बेला राम्रो
अङ्क ल्याउनेले विज्ञान विषय लिएर पढ्नुपर्छ भन्ने अवधारणा थियो । विज्ञान पढ्न
गएँ । प्रयोगात्मक कक्षा डेढ घण्टाको
हुन्थ्यो । म त्यो समय कक्षामा नबसी स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा गएर
त्यहाँ
उपलब्ध पत्रपत्रिका पढेर बस्थेँ । तपाईँले मैले गरेजस्तै गर्नुभयो भने पक्कैपनि
तपाईँका लागि राम्रो होइन ।तपाईँको हातमा यो पनि हुँदैन र त्यो पनि हुँदैन । बरु
तपाईँहरू कोही जानकारसँग (शिक्षाक, अभिभावक, आफन्त, साथीभाइ आदि) विविध विषयको
जानकारी लिनुहोस् । त्यसमध्ये छानेर आफ्नो विषय रोज्नुहोस् र त्यसलाई वास्तवमै
तपाईँले चाहेको विषय बनाउनुहोस् । 'कोरोना ब्याच' भएर धेरै नम्बर ल्याएको भनेर
उपहास गर्नेको पनि पछि नलाग्नुहोस् र धेरै नम्बर ल्याएपछि फलानो विषय पढ्नुपर्नेमा
उलानो विषय किन पढेकोहोला भन्नेलाई पनि बाल नदिनुहोस् । मात्रै तपाईँलाई अनुकूल
हुने काम गर्नुहोस् । तपाईँहरूको उज्वल भविष्यको कामना गर्दछु, धेरैधेरै शुभकामना छ।
तपाईँहरूको
भलो चाहने
विमल
गौतम
gautambro@gmail.com
puranai student vayera holan anubhav haru hamile chai suni sakeko rahechan
ReplyDelete