Skip to main content

नेपाली भाषाका प्रयोगकर्ता अप्ठ्यारोमा: मार्गदर्शनको अभाव

विमल गौतम
gautambro@gmail.com


शब्दब्रह्म भनिन्छ । यसरी हेर्दा भाषालाई भगवानको रूपमा मानिएको पाइन्छ । कुनैपनि जातिका लागि उसको भाषा नै उसको पहिचानको आधार हो। नेपाल भाषामा धनी छ । यहाँ १०० भन्दा ज्यादा भाषाहरू बोलिने गरिएको बताइन्छ। नेपाली भाषालाई  नेपालमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिइएको छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पति हुन् । नेपालका परिचय हुन् । त्यसैले सबै भाषाको संरक्षण, संवर्द्धन र विकासमा ध्यान दिनु आवश्यक छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नो मातृभाषाको ज्ञान लिन पाउनुपर्छ । दोस्रो भाषाको रूपमा विभिन्न जातजातिले नेपाली भाषा सिक्ने गरेको पाइन्छ । विभिन्न जातजातिहरू आफ्नो भाषाको उचित संरक्षणमा  सरकारले ध्यान नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । संघीय सरकारले सबै भाषालाई उचित स्थान दिन नसकेको तथ्य त छँदै छ तर स्थानीय सरकारले स्थानीय संस्कृति र भाषाहरूको विकासमा गर्नसक्ने योगदान समेत नगरेको देख्दा उदेक लाग्ने अवस्था बनेको छ ।भाषा र संस्कृति गुम्नु भनेको आफू हुनुको अर्थ नै नरहनु हो। यदि कोही मैथिली समाजको व्यक्तिलाई मैथिली भाषा र संस्कृति तथा लिम्बू समाजको व्यक्तिलाई लिम्बू भाषा र संस्कृतिको जानकारी छैन वा पालना गर्दैन भने उसलाई आफू मैथिली वा लिम्बू  जाति भएको भनेर चिनाउने आधार के नै पो हुन्छ र ? उसले आफ्ना कुरा गुमाइसकेको हुन्छ । सबै नेपाली महाजातिको साझा भाषा हो नेपाली । यो नेपालकै पहिचानको रूपमा स्थापित भाषा हो । नेपाली भाषा नेपाली महाजातिको साझा पहिचानको भाषा बनेको छ । नेपालभित्र बोलिने अन्य भाषाको त हालत छँदै छ अहिले राष्ट्रको पहिचान बोकेको नेपाली भाषाको पनि चीरहरण गरिएको अवस्था छ । यसका लागि नेपाली भाषाकै केही पण्डितहरू दु:शासन बनेका छन् । दु:शासनहरूको मति सुध्रने हो वा कुरुक्षेत्रमा पुगेर अन्त्य हुने हो समयले नै बताउला । अहिले यति भन्न सकिन्छ, “जे गरे गलत गरे ।”

 

नेपाली भाषामा आजसम्म प्राप्त तथ्य हेर्दा वि.सं. १०३८ तिर लेखिएको अनुमान गरिएको भूपाल दामुपालको दुल्लु शिलालेख नै सबैभन्दा पुरानो प्रमाणको रूपमा रहेको मानिन्छ । त्यसपछि शिलालेख, ताम्रपत्र र कागजातहरू लेखिएको इतिहास भेटिन्छ ।नेपाली भाषा पश्चिमबाट मध्यनेपालसम्म पृथ्वीनारायण शाहको एकीकरणभन्दा पहिले नै फैलिएको मानिन्छ । प्रारम्भिक नेपाली भाषालाई खस कुरा, सिञ्जाली भाषा, पर्वते भाषा आदि नामले चिन्ने गरिन्छ । पृथ्वीनारायणको नेपाल एकीकरण अभियानपछि यो भाषा गोर्खाली भाषाको रूपमा परिचित हुनपुग्यो । नेपालको कर्णाली क्षेत्रबाट विकास भएर मध्य नेपाल हुँदै पूर्वी नेपालमा समेत फैलिएपछि यो भाषाको पूर्वी भेद मानक नेपाली भाषामा रूपान्तरण भयो । राणाकालको अन्तिमतिर मात्रै विद्वानहरूले गोर्खाभाषाको सट्टा नेपाली भाषाको नाम उच्चारण गर्न थाले ।राजा महेन्द्रको पालामा विसं.२०१९ सालमा जारी गरिएको संविधानमा नेपाली भाषालाई राष्ट्रभाषाको मान्यता दिइएको पाइन्छ । यसरी हेर्दा नेपाली भाषा यो अवस्थामा आउन लामो संघर्ष गरेको पाइन्छ । नेपाली भाषाका विद्वानहरूको यसमा ठूलो योगदान रहेको छ । महाकवि देवकोटाले नेपाली भाषाको लागि सङ्घर्ष गरिरहँदा कसैकसैले नेपाली भाषा बाँच्तैन, हिन्दीले शासन गर्छ भनेर भन्ने गरेका थिए भन्ने प्रसङ्गहरू पनि सुन्न पाइन्छ ।

नेपाली भाषा लिखित रूपमा आउनुभन्दा पहिले बोलचालको लामो अभ्यास पक्कै भयोहोला नै । यसरी हेर्दा एघारौँ शताब्दीभन्दा धेरै पहिले नेपाली भाषाको विकास सुरु भएको मान्न सकिन्छ । पृथ्वीनारायण शाहका समयसम्ममा पनि नेपाली भाषा शिलालेख, ताम्रपत्र, कागजातहरू आदिमा मात्रै सीमित रहेको पाइन्छ । पृथ्वीनारायण शाहको समयपछि गोरखा भाषाको नामले विकसित भएपनि प्रकाशनका हिसाबमा मोतीराम भट्टभन्दा पहिले खास विकास भएको देखिँदैन । मोतीराम भट्टले नै भानुभक्तको रामायण, आफ्ना र साथीहरूका कृतिहरू प्रकाशन गरेपछि नेपाली भाषाले नेपालभित्रै व्यापक रूप पाएको देखिन्छ ।यसपछि व्यापक लेखनका अभ्यासहरू हुनथाले । पत्रपत्रिकाहरूको प्रकाशन भयो । गोरखापत्रको प्रकाशन भयो । वि.सं. १९४१(कसैले १९४५कसैले १९५०भनेको) तिर प्रकाशित भएको भनिएको बनारसबाट प्रकाशित हुने ‘गोर्खा भारत जीवन' नेपाली भाषाको पहिलो अखबार बन्यो । वि.सं. १९५७ मा दार्जिलिङबाट ‘गोर्खे खबर कागत्'  त्यस्तै देहरादुनबाट ‘गोर्खा खबर', ‘गोर्खा संसार', ‘तरुण गोर्खा' आदि गोर्खा नाम गरेर पत्रिकाको प्रकाशन भयो।  अहिलेको साझा प्रकाश पहिले ‘गोर्खाभाषा प्रकाशनी समिति' र पछि ‘नेपाली भाषा प्रकाशनी समिति' बनेको थियो । यसरी हजार वर्षभन्दा बढी समयसम्म नेपाली भाषाले स्तरीय भाषा हुनमै सङ्घर्ष गरिरहेको बुझ्न गाह्रो पर्दैन ।

 

जे.ए. एटन (१८२० तिर) नेपाली व्याकरणका आदि व्याकरणकार मानिन्छन् ।अमृतानन्द बाँडाले पनि नेपाली व्याकरण लेखेका थिए भन्ने उल्लेख छ। एस.एच. केगल नाम गरेका विद्वानले त ‘अ ग्रामर अफ हिन्दी ल्याङ्ग्वेज'मा नेपाली भाषालाई हिन्दी भाषाको हिमाली भाषिकाको रूपमा प्रस्तुत गरेको बताइन्छ ।टर्नबुलले नेपाली भाषा र व्याकरणका तीन पुस्तक लेखेका थिए ।नेपाली भाषामा पत्रपत्रिका प्रकाशन हुन थालेपछि नेपाली व्याकरण लेख्न नेपाली विद्वानहरूलाई पनि तातो लागेको देखिन्छ । जयपृथ्वीबहादुर सिंहले वि.सं. १९६९मा लेखेको व्याकरण नेपाली भाषाको विकासमा महत्त्वपूर्ण उपलब्धी थियो । हेमराज पण्डितको गोरखा भाषा चन्द्रिका व्याकरण (१९६९)ले नेपाली भाषा व्याकरणका लागि महत्त्वपूर्ण कृति हो । सोमनाथ सिग्द्यालको मध्यचन्द्रिका (१९७६) व्याकरणका लागि गुरुग्रन्थ मानिन्छ । नेपाली भाषा श्रीवृद्धि गर्न हालसम्म थुप्रै विद्वानहरूले योगदान गरेका छन्। ती सबै उल्लेख गर्नु यो लेखको अभिष्ट होइन। यी लगायत राणाकालको अन्त्यसम्म प्रकाशित विविध कृतिहरूले  आधुनिक नेपाली भाषाको जग खडा गरेका हुन् भन्ने देखाउनु मात्रै मेरो लक्ष्य हो । स्तरीय नेपाली भाषा कस्तो हुनुपर्छ र कस्तो लेखिनुपर्छ भनेर मानकीकरण र भाषाको महत्त्वपूर्ण विकास यही समयमा भइसकेको हो ।

 

गोरखाभाषा प्रकाशनी समिति(१९७१) नेपाली भाषा प्रकाशनी समितिमा(१९९१) रूपान्तरण भएसँगै(वा यही समयको आसपासबाट) नेपाली भाषा विकासशील अवस्था पार गर्दै विकसित अवस्थामा अवतरण भएको हो। यो समयमा नै नेपाली भाषाले यसका महत्त्वपूर्ण साधकहरू सम, देवकोटा, पौडेल आदि पाएको पनि छ। नेपाली भाषामा विविध गतिविधि हुँदाहुँदै पनि नेपाली शब्दकोशको ठूलो अभाव रहेको थियो।वि.सं २०२० सालमा प्रज्ञाले प्रकाशन गरेको बालचन्द्र शर्माको शब्दकोश र  वि.सं. २०४० सालमा आएर नेपाल प्रज्ञा प्रतिष्ठानले बृहद् नेपाली शब्दकोश प्रकाशन गरेर त्यो अभाव पनि पूरा गरिदियो।यसरी यो अवधिसम्म नेपाली भाषाले स्पष्ट रूप प्राप्त गरेको देखिन्छ ।यो अवधिमा नेपाली भाषाको प्रचुर विकास भएको छ। अब कुनै मानकिकरणको पागलपन आवश्यक छ जस्तो लाग्दैन ।त्यो समयमा चलेका केही विवादहरूलाई पनि छलफलद्वारा त्यही सेरोफेरोमा टुङ्ग्याउनु ठीक होला। त्यो अवधिमा मान्यता प्राप्त गरेका हिज्जहरूलाई जस्ताको तस्तै लेख्ने र त्यसपछि नयाँ थपिएका शब्दहरूलाई नेपाली भाषामा लेख्न स्वीकार्य नेपाली नियम बनाउँदा उचित देखिन्छ । विद्वानहरूले जुँगाको लडाइँ गरेर नेपाली भाषाको वैज्ञानिक विकास हुने आधार देखिन्छ र ?

 

नेपाली भाषामा चलिआएका शब्दहरूलाई जस्तो थियो त्यस्तै लेख्नुपर्छ भनिरहँदा अनेक प्रश्न उब्जिन सक्छ । कस्तो लेख्ने त ? दामुपालको जस्तो लेख्ने ? राजा राम शाहको पालाको जस्तो लेख्ने ? पृथ्वीनारायण शाहको पालामा भएजस्तो लेख्ने वा भानुभक्त वा मोतिरामको पालामा भएजस्तो लेख्ने ? मैले अघिल्लो अनुच्छेदमै उल्लेख गरेको छु कि जुन अवधिमा नेपाली भाषा विकसित अवस्थामा पुगेको छ , धेरै साहित्य लेखिएको छ र स्तरीय शब्दकोश प्रकाशन भएको छ त्यही अवस्थालाई मानक भाषा मानेर लेख्नु उचित हुन्छ । अब नयाँ मानकीकरणको जरुरत छैन । नयाँ शब्द आउँछन् भने त्यसलाई थप्दै जानुपर्छ । बहुसङ्ख्यक भाषाका प्रयोगकर्ताहरूको आधारमा कुनै शब्दको अर्थविस्तार, कुनैको अर्थसङ्कुचन, कुनैमा अर्थपरिवर्तन हुन्छ र नयाँ शब्द निर्माण हुँदै जान्छन् भने त्यसलाई मानक भाषामा स्थान दिनु आवश्यक छ ।भाषा जनताले निर्माण गरेको हो भाषविज्ञले होइन, त्यसैले निर्माण भएको भाषामा विज्ञानसम्मत तर्क खोजेर भाषाको विवेचना गर्ने काम हो भाषा वैज्ञानिको ।एउटा ‘विद्यालय' शब्द निर्माण हुन धेरै पुस्ताको लगानी छ। घोषणापत्र लेखेर एक झट्कामा विद् यालय  बनाउन कसैको अधिकार छैन । तर्क अनौठा छन् । ‘द्य', ‘द्म' आदि शब्दहरू नेपाली भाषामा नभएकाले विद्यार्थीलाई बुझ्न अप्ठेरो भयो रे ! यस्ता भाषाविज्ञहरू चित्रलिपि भएका भाषा सुधार गर्न उतै गए हुन्न ? खान्जी बुझ्न त झनै गाह्रो हुन्छ। त्यहाँका विद्यार्थीलाई झन् अप्ठेरो परेको होला। अङ्ग्रेजीमा लेखिन्छ एउटा, उच्चारण हुन्छ अर्को । यो  झन् पूरै अवैज्ञानिक भएन त ? नेपाली भाषालाई वैज्ञानिक भाषा बनाउनेहरूले अङ्ग्रेजी पो सुधार्न जाने कि? मानिसलाई आवश्यक परेपछि जसरी पनि सिक्छ । सिकाएपछि सिक्छ । नेपालीहरू खान्जी सिकेर कोरिया र जापान जान सक्छन् । अङ्ग्रेजीको शुद्ध उच्चारण सिकेर अमेरिका र अस्ट्रेलिया जान सक्छन् । यत्रो क्षमता राख्ने नेपालीहरू आफ्नै गाउँसमाजमा बोलिरहेको, आफूले पढेलेखेको नेपाली भाषा सिक्न सक्तैनन् ? ‘द्य' र ‘द्म' पहिचान गर्न सक्तैनन् ?

नेपाली भाषामा यत्रो ठूलो विकास भइसक्ता अझै हिज्जेको टुङ्गो नलाग्नु ? दश/दश वर्षमा हिज्जे परिवर्तन हुन्छ ? नेपाली हिज्जे परम्मरा चालीस सालमा प्रज्ञाको शब्दकोश प्रकाशन भएको अवस्थासम्म जस्ता थिए त्यही अवस्थामा प्रयोग हुनु आवश्यक छ (प्रज्ञाको पहिलो शब्दकोषमा पनि विवाद नभएको होइन तर त्यो विस्तारै सामान्यीकरण भएको महसूस भएकाले)।त्योभन्दा यता थपिएका शब्दहरूमा भने नेपाली नियमको परम्मराअनुसार लेख्दा सबैलाई स्वीकार्य हुन्छ भन्ने मेरो बुझाइ छ ।

अहिले  किताबमा जे छ त्यही पढाउनुपर्ने अवस्था छ । पाँचमा एकप्रकारको हिज्जे, सातमा अर्कै , दशमा अर्कै र एघारमा अर्कै पढाउनुपर्ने बाध्यता छ। अहिले केही सुधार भएजस्तो देखिए पनि पूरै सुधार भएको छैन । विद्वानअनुसारका किताब र हिज्जेव्यवस्था छन् । अभिभावक शुद्ध लेख्न सिकाउनू है मेरो छोरालाई\ छोरीलाई भनेर भन्छन् ।  कुन शुद्ध हो भनेर पहिचान गर्न नै समस्या छ । विद्यार्थी नेपाली विषयमा झन् अन्योलग्रस्त छन् । फरकफरक हिज्जेले उनीहरूको मानसिकता जे गरेपनि हुने भन्नेमा पुगेको छ । यसले भाषामा रुचि पनि घटेको छ । अब यो अवस्थाबाट कसरी मुक्ति पाउने ? भाषाविद्हहरूले जवाफ दिनुहोला।                                                    

 अस्थिर  हुनुको प्रमुख कारण भनेको विकसित नहुनु नै हो । नेपाली भाषा विकसित नभएको मान्न म तयार छैन । नेपाल, भारत, म्यानमार आदि देशमा पुस्तौँदेखि नेपाली भाषा बोल्ने मानिसहरूले नेपाली भाषाको अस्तित्व बचाइरहेका छन् । नेपाली भाषाका कृतिहरू असङ्ख्य प्रकाशित छन् ।नेपाल बाहिरका विभिन्न देशका विद्यालय र विश्वविद्यालयमा नेपाली भाषाको पढाइ हुन्छ । यस्तो अवस्थाको भाषा पक्कै विकसित नै हो । नेपालमा भाषाको विवाद जुँगाको लडाइँ नै हो अथवा कसैको योजनाबद्ध जाल पनि हुनसक्छ । अस्थिरताले प्रगतिको मार्ग देखाउँदैन भन्ने हामी नेपालीले बुझेका छौँ । अस्थिर हुनाले नै नेपाल विकास नभएको हो भन्ने हामीलाई थाह छ । भाषामा परिवर्तन त हुन्छ तर त्यो अधिकार बहुमत प्रयोगकर्तामा हुन्छ र विस्तारै हुन्छ।निरन्तरको सामाजिक सम्झौताबाट भाषाको विकास भएको हो। पहिल्यै बनेको भाषालाई भाषाविज्ञानको नाममा अस्थिरता पैदा गरेर विनाश गर्ने प्रयास गरिएको हो । भाषाका विद्वानहरूले, विश्वविद्यालयका प्राध्यापकहरूले र नेपाल प्रज्ञा प्रतिष्ठानले मिलेर यो भाषा विवादलाई अन्त्य गर्नु आवश्यक देखिन्छ । यसो गरेमा हामीजस्ता भाषा सिकाउने सिकरुलाई पनि सहज हुन्थ्यो र बालबालिकालाई पनि भाषा सिक्न सहज हुन्थ्यो ।यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि नेपाली भाषाको इज्जतमा धक्का लाग्दैनथ्यो ।

हिज्जेमा भाँडभैलो मच्चाएर नेपाली भाषा विकास हुँदैन र लोकप्रिय पनि हुँदैन । यस्तै भइरहे नेपाली भाषाप्रति वितृष्णा उत्पन्न हुनेछ । नेपाल देश र नेपालि जातिसँगै नेपाली भाषा आउने गर्छ । नेपाली भाषा हराउनु भनेको नेपाली महाजाति पनि हराउनु हो।कतिपय अनलाइन पत्रकारिता गर्नेहरूले भाषालाई ध्यान नदिएको कारणले पनि भाषाको अपमान भएको छ । यस विषयमा पत्रकारहरूले पनि ध्यान दिन र सचेत हुन आवश्यक छ। हामी अङ्ग्रेजीमा सचेत रहँदा नेपाली लेख्नमा सचेत हुन सक्तैनौ ? हामी school लाई बषौँदेखि त्यही लेख्दै आएका छौँ तब किन विद्यालयलाई परिवर्तन गर्नुपर्ने ? नेपाली भाषा जोगाउन अब हरेक निकाय भाषामा सचेत हुनुपर्ने देखिन्छ । अझ नेपाली विषयका विद्वानहरूले पूर्ण जिम्मेवारी लिनुपर्ने देखिन्छ । नेपाली भाषाका विद्वानहरूले उचित मार्गदर्शन गरून्, यही इच्छा छ ।

Comments

  1. लेख भन्दा पनि बिचार राम्रो ।

    ReplyDelete
  2. सर खाटको पर्याबाची के हो ?

    ReplyDelete
  3. Good 👍😊

    ReplyDelete

Post a Comment

Popular posts from this blog

विविध शब्दहरू

                      विविध शब्दहरू  क) अनुकरणात्मक शब्द :-  कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल नै अनुकरण हो। यस्तो अनुकरण बुझाउने शब्द नै अनुकरणात्मक शब्द भनेर चिनिन्छ। अनुकरण ध्वनिमा आधारित वा दृश्यमा आधारित हुन्छ । उदाहरण: १) खुरुखुरु (लेख्नु/हिँड्नु/ कुनै काम गर्नु) २) खलखली ( पसिना आउनु) ३) गजक्क ( हुनु) ४) घुटुक्क ( निल्नु)  ५) हरहर ( तिर्खा लाग्नु) ६) घत्रक्क ( खस्नु) ७) चिरबिर ( चरा कराउनु )    आदि   वाक्यमा प्रयोग #थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् । # थचक्क = अर्चना खाटमा थचक्क बसी। # फटाफट = हरि फटाफट हिँड्दै छ। ख) पारिभाषिक शब्द :- खास खास क्षेत्रमा चल्ने, विशिष्ट अर्थमा प्रयोग हुने तथा परिभाषामा दिएर शब्दको अर्थ थाह पाइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ । उदाहरण: १) वैधानिक = विधान वा नियमअनुसारको कुरा २) निर्दलीय =  कुनै राजनीतिक दलको व्यवस्था नगरिएको ३) नागरिकता = नागरिक हुनुको भाव वा अवस्था ४)  परीक्षण = चेक, जाँच गर्ने काम ५) पत्रकार = लेख, रचना, समाचार आ...

पदवर्ग/शब्दवर्ग अभ्याससहित

पदवर्ग/शब्दवर्ग नेपाली भाषामा शब्द संस्कृतबाट, अन्य भाषाबाट र आफ्नै स्रोतका गरी विभाजन गर्न सकिन्छ; यो स्रोतअनुसारको वर्गीकरण हो। यस्तै मूल शब्द र व्युत्पन्न शब्द (मूल शब्दबाट बनेका शब्द) गरी बनोटका आधारमा पनि शब्दको विभाजन हुन्छ; यो बनोटका आधारमा गरिएको शब्दको वर्गीकरण हो।शब्दहरूले वाक्यमा आएर गर्ने कार्यको आधारमा गरिने शब्दको वर्गीकरणलाई पदवर्ग वा शब्दवर्ग भनिन्छ । शब्दवर्ग रूप चल्ने विकारी र रूप नचल्ने अविकारी गरेर दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । यसलाई निम्नअनुसार हेर्न सकिन्छ। विकारी –   नामिक पद (नाम, सर्वनाम र विशेषण) र क्रियापद अविकारी (अव्यय) – नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक, निपात शब्दवर्ग निम्न छन् १)      नाम २)      सर्वनाम ३)      विशेषण ४)      क्रियापद ५)      नामयोगी ६)      क्रियायोगी ७)      संयोजक ८)      विस्मयादिबोधक ९)      निपात   शब्दवर्ग पहिचान गर्ने आधारहरू श...

नेकशुले २०६९

हिज्जे-विचार नाम १.       ह्रस्व इ, उ अन्त्यमा हुने शब्द-  क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि। ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि। ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि।  अपवाद – दाईं, लडाईं, बसाईं आदि। २.       दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द-  क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि। ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि। ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि। घ)     आदरार्थी ज्यू, जी...